ललिता साह
बोदेवर्साइन (सप्तरी), असोज १६ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कृषिमा लगानी गरी युवा र उद्योगीलाई आत्मनिर्भर बन्ने वातावरण देशभित्र सिर्जना गर्नुपर्न बताउनुभयो ।
पार्टीको मेची–महाकाली जागरण अभियानको दौरान समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा मङ्गलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता नेपालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष नेपालले सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकारले आफूलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
कृषिमा आधारित औद्योगीकरण गर्न थप लगानीको खाँचो औँल्याउनुहुँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने तथा नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा विदेशी लगानीको सम्भावनालाई बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले जनतालाई गरिबीबाट मुक्त गर्न कम्युनिष्ट पार्टी स्थापना भएको चर्चा गर्नुहुँदै जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता र समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँदा यसमा लोकतान्त्रिक मिडियाको सहयोग पुर्याउनु पर्दछ । उहाँले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने समेत औँल्याउनुभयो ।
फरक प्रसंगमा बोल्नुहुँदै नेता नेपाल भन्नुहुन्छ, ‘‘यथास्थितिमा एमसिसी पास गरेको भए देशको तटस्थ कूटनीतिक नीतिमा धक्का पुग्ने थियो र राष्ट्रघाती हुन्थ्यो । यसर्थ हामी १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई अघि सार्दै एमसिसी पास गरेकोले यसमा कुनै प्रकारको दुविधा मान्न मान्नु पर्ने छैन ।’’
यसैगरी, पार्टी एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले सङ्घीयता आइसकेपछि पश्चात संविधान कार्यन्वयनको पक्षमा जनता र सरकार चुकेको बताउनुभएको छ ।
देशमा बढ्दै गएको भ्रष्टाचार सामाजिक दण्डहीनता अन्त्यका लागि खबरदारी स्वरूप नेपालको पूर्वी सिमाना मेचीदेखि एकीकृत समाजवादी पार्टीले थालिएको मेची–माहाकाली जागरण अभियानको दौरान सप्तरीको राजविराजको सभालाई सम्बोधन गर्नुहुँदै नेता खनालले यस्तो बताउनुभएको हो ।