• १३ साउन २०८१, आइतबार

सिकलसेलको छुट्टै युनिट

blog

खजुरा समाचारदाता 

खजुरा, असोज १४ गते । अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि सेवालाई थप वृद्धि गर्नका लागि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले सिकलसेलको छुट्टै युनिट बनाएर सेवा सञ्चालनमा ल्याउने भएको छ।  भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले सिकलसेलका बिरामीको उपचारका लागि छुट्टै युनिट बनाउने बताउनुभयो। अध्यक्ष शाहले यसका लागि सङ्घीय सरकारको बजेट आइसकेको र प्रदेशबाट समेत यो काममा सहयोग हुने वचन दिएको हुँदा छिट्टै सञ्चालनमा ल्याउनका लागि गृहकार्य भइसकेको बताउनुभयो।

पछिल्लो समय सिकलसेल र थालसेमिया बिरामीको सङ्ख्यामा वृद्धि भएको हुँदा पुरानो भवनका कोठा साँघुरो भएको र कर्मचारीको पनि अभावका कारण सञ्चालन गर्न केही असहज भएको थियो। भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनजङ्ग रायमाझीले नयाँ भवनमा सर्ने र कर्मचारी परिपूर्ति गरेर सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचार छुट्टै युनिट बनाएर सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। छुट्टै युनिटका लागि आवश्यक कर्मचारीको व्यवस्थापन गर्नै कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो। 

भेरी अस्पतालमा दैनिक एक हजारभन्दा बढी सिकलसेलका बिरामीको उपचार गर्नु परेको हुँदा युनिट आवश्यक पर्ने भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले बताउनुभयो। डा. पाण्डेले भन्नुभयो, “भेरीमा एक हजार २८ जना सिकलसेल र एक सय जना थालसेमियाका बिरामीको नियमित उपचार हुने गर्छ। दैनिक जसो रगत परिवर्तन गरी राख्नु पर्छ अतः अलग युनिटको आवश्यकता रहेको छ। यस विषयमा हामीलाई मेसुबाट आश्वासन पनि पाएका छौँ।”

सिकलसेल तथा थालसेमियाका विशेषज्ञसमेत रहनुभएका डा. पाण्डेले छुट्टै युनिट सञ्चालनका लागि डे केयरको समेत आवश्यकता पर्ने बताउँदै छुट्टै युनिटमा १२ नर्सिङ, दुई मेडिकल अफिसर, एक सफाइकर्मी तथा चार जना हेल्पर कर्मचारी आवश्यक पर्ने उहाँले बताउनुभयो। 

भेरी अस्पतालमा पश्चिम क्षेत्रकै मुख्य तथा प्रसिद्ध अस्पतालका रूपमा रहेको हुँदा यहाँ विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन्। सिकलसेल र थालसेमियाका बिरामीलाई सरकारले एक लाखसम्मको उपचार सुविधा दिने भएको हुँदा पनि भेरीमा बिरामीको सङ्ख्यामा वृद्धि भएको पाइन्छ। अब सिकलसेलका लागि छुट्टै युनिट भएपछि यो रोगका बिरामीले सहज रूपमा उपचार पाउन सक्ने छन्।