गौर समाचारदाता
गौर, असोज १३ गते । बालविवाह न्यूनीकरणसम्बन्धी मधेश प्रदेशस्तरीय भिडियो प्रतियोगितामा प्रथम स्थान ल्याउने रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरी निवासी छात्रछात्रालाई पुरस्कृत गरिएको छ । आरसिएफएम परियोजना अन्तर्गत सञ्चालित बालविवाह न्यूनीकरण भिडियो प्रतियोगितामा सहभागी मत्सरी बालक्लबका छात्रछात्रालाई दुर्गाभगवती गाउँपालिका–३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले एक कार्यव्रmमबिच ११ हजार नगद पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा मधेश प्रदेशका छ वटा पालिका सहभागी थिए । प्रतियोगितामा प्रथम स्थान ल्याई गौरवान्वित बनाएकोमा सहभागी छात्रछात्राको मनोबल उच्च बनाउने उद्देश्यसहित पुरस्कृत गरिएको वडाध्यक्ष झाले बताउनुभयो । यसै गरी संस्कृत माध्यमिक विद्यालय मत्सरीबाट एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने दुई जनालाई शकुन्तला स्मृति छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ । शकुन्तला स्मृति छात्रवृत्ति पुरस्कारका संस्थापक एवं संस्कृत माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक सुन्दरदेव झाले एसइईमा उत्कृष्ट अङ्क ल्याउने सालुकुमारी चौधरी र अनामिकाकुमारी मिश्रलाई जनही साढे सात हजार रुपियाँ पुरस्कार प्रदान गर्नुभयो ।
पूर्वप्रधानाध्यापक झाले आफ्नी स्वर्गीय श्रीमती शकुन्तला देवीको नाममा छात्रवृत्ति पुरस्कार स्थापना गर्नुभएको छ । दुई लाख रुपियाँको कोष स्थापना गरी आफू प्रधानाध्यापक रहेको विद्यालयबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई झाले प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आउनुभएको सो विद्यालयका प्रधानाध्यापक त्रियुगनारायण झाले बताउनुभयो ।