भागवत पुराणका अनुसार ब्रह्माजीले सृष्टिको परिकल्पना गर्नुभयो । सृष्टि गर्नका निम्ति उहाँले मनु (पुरुष) र सतरूपा (स्त्री) लाई उत्पन्न गर्नुभयो । साथै तिमीहरू जाऊ र जगत्मा सृष्टि गर भनी उहाँहरूलाई भन्नुभयो । सृष्टि गर्नका लागि उहाँहरू भूमि (पृथ्वी) तर्फ लाग्नुभयो तर हिरण्याक्ष नामक दैत्यले भूदेवी (भूमि) लाई समुद्रभित्र लगेर लुकाएर राखेको उहाँहरूले पाउनुभयो । देवताहरूले भूदेवीलाई मुक्त गरेर लैजान नसकोस् भनेर हिरण्याक्षले बिस्टाको घेराभित्र पारेर राखेको पनि उहाँहरूले चाल पाउनुभयो । मनु र सतरूपा यो प्रतिकूल स्थितिमा ब्रह्माजीको शरणमा पुग्नुभयो र यथास्थितिको जानकारी गराउनुभयो । तब ब्रह्माजीले सोच्नुभयो कि देवताहरू त बिस्टानजिक जाने होइनन् एक शूकर (सुँगुर) मात्र यस्तो जीव हो, जो बिस्टा नजिक जान सक्छन् र भूदेवीलाई मुक्त गराउन सक्छन् । यस्तो सोचेर ब्रह्माजीले तत्काल भगवान् नारायणको ध्यान गरी उहाँलाई यथास्थितिको अवगत गराई भूदेवीको मुक्तिका लागि आग्रह गर्नुभयो । भगवान् नारायणले सम्पूर्ण स्थितिको मूल्याङ्कन गरी वराह अवतार लिनुभयो र समुद्रभित्र पसी हिरण्याक्षको संहार गरी बिस्टासमेत सफा गरी भूदेवीलाई मुक्त गर्नुभयो । उपरोक्त आख्यानको माध्यमले भागवत पुराणले दिन खोजेको सन्देश र चेतना के हो ? सतही र स्थूल अर्थ जेजस्तो लागे पनि यस आख्यानको गुढ अर्थ भने सरसफाइको महत्व नै हो ।
खुला दिसा गर्ने चलनमा परिवर्तन भए पनि गाउँ मात्र होइन, नगरका बाटा र गल्ली अनि नदी, पोखरी र जलाशयको डिल अहिले पनि खुला दिसाबाट मुक्त छैन । हाम्रा लागि दिसा सबभन्दा फोहोर वस्तुमा पर्छ । मानिसले दिसा अर्थात् फोहोरको सफाइ गर्नु पर्छ । मानिसले गर्न नचाहेको सफाइ पशुले गरेको प्रसङ्गबाट हामीले के शिक्षा प्राप्त गर्ने ? पशुमा पनि उही भगवान् (नारायण) को बास छ भन्ने अर्थमा पशु सानो र मानिस ठुलो भन्न मिल्दैन । मानिसले गर्न नसक्ने काम पशुले गरेको छ भन्ने कुराबाट मानिस सफाइप्रति कुन उचाइमा गएर अभिप्रेरित हुनु पर्दछ, माथि उल्लिखित आख्यानले भन्न खोजेको देखिन्छ । भगवान्ले देवताहरूलाई पनि चेतना दिनुभएको छ । सर्वश्रेष्ठ देवताको रूपमा भगवान् नारायण स्वयम्ले धर्तीको बिस्टा अर्थात् फोहोरलाई सफा गरेर देवता अर्थात् राम्रा मानिसलाई पनि सफाइप्रति प्रेरित गर्न खोज्नुभएको प्रतीत हुन्छ । फोहोरबाट मानव समुदायको मुक्तिका लागि भगवान् स्वयम्को अवतरणले मानवमा सरसफाइको महत्व र कर्तव्य स्पष्ट हुन्छ ।
प्रकृतिको विविधता हेर्नलायक छ । धरतीलाई स्वच्छ बनाइराख्न प्रकृतिमा गिद्धको सृष्टि भएको छ । गिद्धलाई प्रकृतिको कुचिकार र पर्यावरणीय चक्रको सन्तुलन र गतिशीलताको संवाहक पनि भनिन्छ । गिद्ध संसारका सर्वाधिक ठुलो चरा हो । गिद्ध हाम्रो समाजमै त होइन तर नजिकै भने अवश्य रहने गर्दछ । ठुलो वृक्षहरूको सङ्ख्या घट्दै गएकाले गिद्धहरू हाम्रो समाजदेखि टाढा हुन थालेका छन् । गिद्ध केवल मरेका जनावरका मासु अर्थात् सिनो मात्र खान्छन् । त्यसैले गिद्धहरू अहिंस्रक मानिन्छ । धार्मिक र सांस्कृतिक आस्थासँग समेत जोडिएको गिद्ध शनि देवताको वाहनको रूपमा पुजिन्छ । रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन जटायु नामक गिद्ध अन्तिम सास रहेसम्म रावणसित सङ्घर्ष गरेको उल्लेख छ । नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदायले गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रूपमा पुज्ने गर्छन्
सरसफाइ मानव जीवनको अभिन्न अङ्ग हो । सफाइ भनेको उज्ज्वलता, निर्मलता, स्वच्छता, पवित्रता हो । सफाइप्रति प्रेम र फोहोरप्रति घृणा भावले मानिसको सरसफाइप्रतिको दृष्टिकोण स्पष्ट पार्दछ । सरसफाइ मानिसले स्वयम् गर्ने कार्य हो । हाम्रो सनातन संस्कृतिमा यो मान्यता छ कि जहाँ सफासुग्घर रहन्छ त्यहीँ लक्ष्मीको बास हुन्छ । सनातनधर्मी लक्ष्मीका उपासक हुन् । यसर्थ महालक्ष्मीको उपासना गर्नुको अर्थ आफ्नो घर वरिपरि सफासुग्घर बनाएर राख्नु सनातनधर्मीको धर्म, कर्तव्य र आचरण हुन आउँछ । सनातन धर्मग्रन्थहरूमा सरसफाइ, स्वच्छता र पवित्रताको विषयमा निर्देशनको व्यापकता छ ।
सरसफाइ सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा मनाउने क्रियाकलाप त हामीकहाँ निकै पहिलेदेखि आयोजना गर्ने गरिएको छ । सार्वजनिक स्थलको सरसफाइमा जनसमुदायलाई जोड्ने गरी सचेतनामूलक कार्यक्रमको सञ्चालन निश्चय नै महत्वपूर्ण हुन्छ । सरसफाइको अवधारणा व्यक्तिको व्यक्तित्वबाट सुरु भएर घरपरिवार हुँदै सार्वजनिक स्थलसम्म पुगेर समुदायमा व्याप्त हुन्छ ।
गान्धीले स्वच्छतालाई सर्वोपरि मान्नुहुन्थ्यो । गान्धीको अभिव्यक्तिमा सरसफाइको ठाउँमा स्वच्छताको प्रयोग देखिन्छ । सरसफाइ क्रिया हो भने स्वच्छता त्यस क्रियाको प्रतिफल हो । सरसफाइ वा स्वच्छताको सन्दर्भमा गान्धीले पहिलो अभिव्यक्ति १४ फरवरी १९१६ को मिसनरी सम्मेलनमा दिनुभएको थियो । उहाँका अनुसार आन्तरिक स्वच्छता पहिलो वस्तु हो, त्यसपछि मात्र अन्य कुरा आउँछ ।
विशिष्ट सार्वजनिक स्थललाई स्वच्छताको केन्द्रमा ल्याउनु दूरगामी तथा सर्वव्यापी विषय भएको छ । सार्वजनिक स्थलहरूलाई सरसफाइ गर्न केन्द्रित भए निजी स्थलहरूको सरसफाइमा स्वतः प्रभाव पर्नेछ । जथाभावी थुप्रिएका फोहोरले गाउँसहर कुरूप पार्छ । वातावरण प्रदूषित बनाउँछ । फोहोरकै कारण विभिन्न रोगको सङ्क्रमण फैलिने सम्भावना पनि उत्तिकै रहन्छ । सफा र स्वच्छ गाउँसहर हाम्रो सभ्यतासँग जोडिएको हुन्छ तर नेपालमा घरको आँगनदेखि सडक, सार्वजनिक स्थल, नदीखोला जहाँतहीँ फोहोर थुप्रिएको भेटिन्छ । जनचेतनाको कमीका कारण पनि फोहोर व्यवस्थित हुन सकेको छैन । यसले सार्वजनिक स्थल दुर्गन्धित भइरहेको छ ।
सहरी क्षेत्रका सार्वजनिक स्थलमा सरसफाइको अभाव देखिन्छ । सहरबजारमा मन्दिर, मस्जिद अथवा अन्य कुनै धार्मिक स्थल होस् वा धर्मशाला तथा विद्यालय, बस स्टप कतै पनि सफाइमा ध्यान दिएको पाइँदैन । सहरबजारका यी सबै स्थानमा फोहोरको डङ्गुर लागेको छ । सहरी क्षेत्रको सरसफाइको कमीले स्थानीय तहको कार्यशैलीमाथि सवाल उठ्दै आएको छ । सर्वसाधारणले यसबाट कठिनाइको सामना त गर्नै पर्छ । साथै स्वच्छताको मामिलामा गलत सन्देश पनि प्रचारित भइरहन्छ । सरसफाइको काममा स्थानीय तहका साथ–साथै नगरवासीको भूमिका पनि अत्यन्तै न्यून छ ।
सार्वजनिक क्षेत्रहरू तोकेर सरसफाइका लागि जनश्रमदान अभियान सञ्चालन गर्नु पर्छ । यसमा स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको उत्प्रेरणा र अगुवाइ हुनु पर्छ । स्थानीय तहका सफाइकर्मीहरूलाई सहायक भूमिकामा राखिनु पर्छ । आमजनताको जनश्रमदान गर्ने वातावरण बन्यो भने फोहोर गर्ने र थुपार्ने प्रवृत्तिमा ह्रास आउने छ । घर सफा भयो भने व्यक्तिको चिन्तन पनि शुद्ध रहन्छ । राष्ट्रिय विकासमा यस्तो प्रवृत्तिको ठुलो योगदान हुने छ ।
अधिकांश व्यक्तिको भनाइ के छ भने सार्वजनिक स्थलको सरसफाइको जिम्मेवारी स्थानीय तहको हो । तर सबैको सहयोगबाट सार्वजनिक स्थलहरूको सरसफाइ गर्नु पर्छ । जब सार्वजनिक स्थल हामी सबैको हो र फोहोर पनि हामी आफैँले गर्छौं भने सफाइ गर्नका लागि स्थानीय तहको बाटो किन कुर्ने भन्ने भावना उत्पन्न हुनु पर्छ । खास गरी वडा समितिहरूले साप्ताहिक कार्यक्रम राखेर सबैले एक घण्टा श्रमदान गरी सार्वजनिक स्थलहरूको सफाइ गर्न सङ्कल्प गर्नु पर्छ ।
ठुला आकारका सरसफाइका लागि ठूलै अभियानको खाँचो हुन्छ । विसं २०७० जेठ ५ गतेदेखि बागमती सरसफाइ महाभियानसँगै सुुरु गरिएको सरसफाइ अभियान देशका विभिन्न स्थानमा जारी छ । सरसफाइ अभियान जारी राख्ने हो भने असम्भव केही रहेनछ भन्ने दृष्टान्त बागमती महाभियानले पुष्टि गरिसकेको छ । प्राकृतिक, ऐतिहासिक एवं धार्मिक महत्व रहिआएको वागमती नदी प्रदूषित हुँदा त्यसले स्थानीवासी मात्रै होइन, धार्मिक पर्यटनमा समेत असर पर्छ । हाम्रो सभ्यता र धर्मसंस्कृतिसँग जोडिएको बागमती नदीमा अहिले मज्जासँग पौडी खेल्न, जल विहार गर्न र पर्यटकलाई आकर्षण गर्न सकिने भएको छ । नेपालका अन्य नदीखोला पनि दूषित बनिरहेका छन् । चितवनमा पनि युवाको समूह ‘वे ग्रुप’ले नारायणी नदी सरसफाइ गर्ने अभियान चलाउँदै आएको छ । ‘वे ग्रुप’कै अभियानबाट प्रभावित भएर चितवनका स्थानीय निकायदेखि विभिन्न सङ्घसंस्था सरसफाइ अभियानमा लागेका देखिन्छन् । सकारात्मक अभियानको सुरुवात जो जसले गरे पनि असल कामप्रति सबैको समर्थन रहन्छ । अहिले फोहोर व्यवस्थापन गर्नु पर्छ भन्ने सोच बढे पनि सहरबजारमा फोहोर थुप्रिने प्रवृत्तिचाहिँ हटिसकेको छैन ।
राजविराजमा सप्तरी युथले साप्ताहिक सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय तहमा ‘डम्पिङ साइट’को अभावका कारण फोहोर व्यवस्थापन हुन सकिरहेको छैन तर सबै फोहोर डम्पिङ साइटमै लगेर फाल्नु पर्छ भन्ने हुँदैन । आफूले उत्पादन गरेका फोहोरको व्यवस्थापन गर्ने पहिलो दायित्व आफ्नै हो भन्ने कुरा मनन गर्न नसक्दा समस्या उत्पन्न भइरहेको छ । आफ्नै घर, पसल अगाडिको फोहोर कुहिएर दुर्गन्ध फैलिँदा पनि नगरपालिकाको ट्याक्टर कुर्ने प्रवृत्तिले फोहोर हाम्रो पहिचान बनेको छ । सञ्चार माध्यममा हिजोआज त्यस्ता व्यक्तिहरूको भूमिका पनि देखिन थालेको छ, जसले आफ्नो घरपरिवारमा सफाइ मात्र गर्दैनन्, फोहोरहरू विभाजन गरेर व्यवस्थापन गर्ने र कम्पोष्ट मल बनाएर आफ्नै घरबारीमा प्रयोग गर्ने गरेका छन् । सरसफाइ र स्वच्छताको युग बदलिँदै छ । नयाँ युगलाई सबैले स्वागत गर्नु पर्छ ।