• १ जेठ २०८२, बुधबार

जयन्दु बाल सुधारगृहमा विवाद : ६८ जना बालक प्रहरी संरक्षणमा

blog

बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृह । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, असोज १२ गते ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा विवाद गरेर अशान्ति मच्चाउने ६८ जना बालकलाई सुधारगृह बाहिर प्रहरीको संरक्षणमा राखिएको छ ।

यही असोज ४ गते राति सो बालसुधार गृहमा रहेका बालकहरुबीच भएको विवादले उग्ररुप लिएपछि भएको कुटपिटमा परेर रुपन्देही कन्चन गाउँपालिका–४ का सुलभ केसीको मृत्यु भएको थियो भने ११ जना बालक घाइते भएका थिए ।

सो घटनापछि बालसुधार गृहमा विवाद, अशान्ति, दादागिरी मच्चाउने ६८ जना बालकलाई त्यहाँबाट हटाएर प्रहरीको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।

उहाँले घटनापश्चात् बसेको जिल्ला बाल न्याय समितिको बैठकले घटनामा भएको भौतिक क्षति पुनर्निर्माण गर्नुपर्ने निर्णय गर्नुका साथै ६८ जना बालकलाई अर्को व्यवस्था नभएसम्मका लागि बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखी स्थानीय प्रहरी कार्यालयको संरक्षणमा राख्ने निर्णय गरेको बताउनुभयो ।

डिएसपी डाँगीले सोही निर्णय अनुसार विवाद गर्ने ६८ जना बालकलाई प्रहरी संरक्षणमा राखिएको बताउनुभयो ।

जिल्ला अदालत बाँकेका न्यायाधीश चुरामन खड्काको अध्यक्षतामा भएको जिल्ला बाल न्याय समितिको बैठकले बालसुधार गृह व्यवस्थापनको जिम्मा नेपाल सरकारले लिनुपर्ने हुँदा केन्द्रीय बाल न्याय समितिमा अनुरोध गरी पठाउने निर्णय गरेको थियो ।

बैठकमा सहभागी अधिकारकर्मी वसन्त गौतमले विभिन्न उमेर समूहका बालकहरू र क्षमताभन्दा बढी सङ्ख्यामा बालकहरू एकै स्थानमा राख्दा अप्रिय घटना दोहोरिने प्रवल सम्भावना व्यक्त गर्दै त्यसको व्यवस्थापन गरिने निर्णय पनि गरेको बताउनुभयो ।

बैठकको निर्णयमा भनिएको छ, ‘‘देशभरिका १८ वर्ष उमेर नाघेका कानुनको विवादमा परेका बालबालिकालाई बाँकेको नौबस्तामा निर्माण भएको अत्याधुनिक बालसुधार गृहमा स्थानान्तरण गर्दा एकै उमेर समूहका बालकलाई एकै स्थानमा राख्दा अर्को घटना हुने जोखिम समेत प्रबल देखिएकाले थोरै सङ्ख्यामा मात्र राख्ने व्यवस्था गरी अन्य विकल्प सोच्नुपर्ने अवस्था छ ।’’

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार बैठकले भविष्यमा यसखालका घटना दोहोरिन नदिन बालकल्याण गृह निगरानी कक्षको उचित व्यवस्थापनका लागि आवश्यक स्रोत साधनको लागि प्रयास गर्ने, भविष्यमा यस्ता अप्रिय घटना हुन नदिन जिउज्यान एवम् भौतिक सम्पत्तिको संरक्षणका लागि आवश्यक पर्ने व्यवस्था गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो ।

लागू औषध खाने र नखाने बालकहरुबिच भएको झडपले उग्ररुप लिँदा त्यहाँ रहेका २५४ जना सबै बालकहरु बाहिर निस्केकोमा २५१ जना सम्पर्कमा आइसकेको र तीनजना अझै पनि सम्पर्कमा नआएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीको उपस्थिति न्यून र सुरक्षा व्यवस्था फितलो भएकै कारण पटक–पटक सो बालसुधार गृहमा विवाद र कुटपिट हुँदै आएको थियो ।