• १३ साउन २०८१, आइतबार

ओझेलमा छन् पर्यटन पूर्वाधार योजना

blog

मुर्माटपबाट देखिएको रारातालको दृश्य । फाइल तस्बिर

रजनी योगी 

सुर्खेत, असोज ११ गते । तीन तहका सरकारको प्राथमिकतामा पूर्वाधार विकास निर्माणका योजना धमाधम अगाडि सारिएको छ । तर सरकारले आवश्यकता र प्राथमिकीकरण गर्न नसक्दा योजनाको कार्यान्वयन निकै कमजोर छ । 

पछिल्लो समय मुगुमा ठूला पूर्वाधार योजना बनेका छन् । तर कार्यान्वयन भने हुन सकेका छैनन् । आर्थिक वर्ष २०७७–७८ मा ल्याइएको रारा–मुर्माटप केबलकारको योजना अलपत्र परेको छ । उक्त योजना संघीय र प्रदेश सरकारको नीति–कार्यक्रममा परेको भए पनि व्यवहारमा प्रगति शून्य छ । 

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७–७८ मा मुगुको रारा–मुर्माटप लगायतका स्थानमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने नीति तथा कार्यक्रममा राखेको थियो । उक्त योजना सरकारको नीति तथा कार्यक्रममा सीमित बनेको छ ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूले समेत यो योजनालाई अगाडि बढाउनुपर्ने माग राख्दै आएका छन् । विनाअध्ययन लोकप्रियताका लागि सरकारले केबलकारको अवधारणा ल्याएको जानकार बताउँछन् । प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रम र बजेटमा केबलकारको सपना देखाएको सरकारले हालसम्म पनि उक्त आयोजनालाई गति दिन सकेको छैन । 

कर्णालीको पर्यटन प्रवर्धन, आवागमन र आर्थिक विकासका गतिविधिलाई टेवा पुग्ने उद्देश्यले सरकारले रारा–मुर्माटप केबलकारको योजना बनाएको थियो । रारा–मुर्माटप केबलकार निर्माण गर्न आवश्यक रहेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो । 

सङ्घीय र प्रदेश सरकारसँग केबलकार निर्माणका लागि माग गरिएको उहाँले जानकारी दिनुभयो । रारादेखि मुर्मासम्म पुग्न पाँच घण्टाको पैदल यात्रा गर्नुपर्छ । केबलकार बनेको खण्डमा दश मिनेटमै मुर्मासम्म पुग्न सकिने भामको भनाइ छ । 

२०७५ वैशाख १ गते राराबाट पर्यटन वर्षको सुरुवात गरिएको थियो । त्यतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रारा–मुर्माटपसम्म केबलकारको निर्माण गर्ने वाचा गर्नुभएको थियो । तर आशावादी बनेका मुगालीका लागि भने यो योजना निराशामा बदलिएको छ । 

पछिल्ला आर्थिक वर्षमा केबलकारको योजना समेटिएको छैन । रारादेखि मुर्माटपसम्म पर्यटकीय गन्तव्यका रूपमा लिने गरेको भए पनि भौगोलिक असहजताले कम मात्र पर्यटक पुग्नेगरेका छन् । मुर्माटपबाट विभिन्न आठ जिल्लाका नाकाहरू हेर्न सकिन्छ ।

मुर्माटपसम्म पुगेर रारा ताल तथा रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले पनि पर्यटन प्रवर्धनका लागि केबलकारको अवधारणा अघि बढाइएको हो । नेपालकै सबैभन्दा ठूलो तालका रूपमा परिचित रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्रका रूपमा हेरिन्छ । 

अन्य प्रदेशका हिसाबमा कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले भरीपूर्ण तथा धनी छ । भौगोलिक विकटताका कारण त्यहाँ पुग्ने पर्यटकलाई सास्ती हुनेगरेको छ । यस्तै, आर्थिक वर्ष २०७७–७८ मा सुर्खेतदेखि सिद्धपाइलासम्म केबलकार बनाउने लक्ष्य कर्णाली प्रदेश सरकारले राखेको थियो । 

सरकारले नीति तथा कार्यक्रममा पर्यटन प्रवर्धन र आर्थिक विकासका गतिविधिलाई प्रभावकारी बनाउन उक्त योजना अघि सारेको थियो । अध्ययन नगरी हचुवाको भरमा योजना अघि सारिएको भएकाले कार्यान्वयन हुन सकेको छैन । आवश्यकता र प्राथमिकरण नगरी प्रदेश सरकारले नीति तथा कार्यक्रममा केबलकारको अवधारणा ल्याएको हो ।

प्रदेश सरकारका अहिलेसम्म आएका यस्ता योजना कार्यान्वयन हुन सकेका छैनन् । कतिपय योजना राजनीतिक एजेण्डाका रूपमा आएका छन् । कतिपय आवश्यकता अनुरूपकै छन् । तर भएकै योजना कार्यान्वयन गरी नसक्दै अर्को विकल्प थप्दै जाने, कुनै योजना पूरा नहुनाले सरकारले अघि सारेका कार्यक्रम अधुरा बनेका छन् । 

पर्यटन प्रवर्धनका लागि कम योजना बन्नु, प्राथमिकीकरण नुहुनु, लगानीको व्यवस्था नहुनु, हचुवाको भरमा योजना बनाउँदा यी योजना कार्यान्वयनमा समस्या देखिएको स्थानीयको भनाइ छ । आवश्यकता पहिचान गर्न नसक्दा पर्यटन पूर्वाधारका योजना अन्योलमा छ ।