• १३ साउन २०८१, आइतबार

पर्यटकले भरिभराउ मन्थली विमानस्थल

blog

नवराज श्रेष्ठ

रामेछाप, असोज ११ गते । अहिले रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली एयरपोर्टबाट सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि उडान भइरहेको छ । असोजको पहिलो सातादेखि मङ्सिर दोस्रो सातासम्म यहाँबाट लुक्ला उडान हुने छ । 

विभिन्न देशबाट घुम्न आएका पर्यटकलाई नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल, लुक्ला लैजाने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले वर्षमा दुई पटक चैतदेखि जेठ महिनासम्म (वसन्त ऋतु) र असोज पहिलो सातादेखि मङ्सिर १५ गतेसम्म (शरद ऋतु) मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला पर्यटक लैजाने व्यवस्था गरेको नागरिक उड्डयन प्राधिकरण, मन्थली रामेछापकी एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अफिसर पूजा थापाले बताउनुभयो । 

“असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्मका लागि अहिले लुक्ला उडान भइरहेको छ, अहिले दैनिक ३२ भन्दा बढी उडानमार्फत ४६० जनाभन्दा बढी विदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि लुक्ला पुगिरहेका छन्,” उहाँले भन्नुभयो । अहिले सीता, तारा र समिट एयरले मन्थली–लुक्ला उडान गरिरहेका छन् ।

बजार शून्य

यो समय मन्थली विमानस्थलमा दैनिक बिहानैदेखि विदेशी पर्यटकले खचाखच हुने गरेको छ । विभिन्न ट्राभल्स एजेन्सीले काठमाडौँबाट गाडीमा पर्यटक मन्थली विमानस्थलसम्म ल्याउने गरेका छन् । पर्यटक काठमाडौँबाट सिधै विमानस्थल र विमानस्थलबाट सिधै काठमाडौँ जाने भएपछि मन्थली बजारमा भने कुनै चहलपहल छैन । विमानस्थल पर्यटकले खचाखच भए पनि मन्थली बजार क्षेत्रमा पर्यटक देखिँदैनन् । विमानस्थलबाट उडान गरिरहेका विमानको समय तालिका अनुसार ट्राभल्स एजेन्सीले काठमाडौँ, सिन्धुलीको मूलकोट हुँदै मन्थली ल्याएर सिधै विमान चढाउँछन् । 

यसका कारण मन्थली बजार क्षेत्रका होटेल, पसल तथा रेस्टुरेन्टलगायतमा व्यापार भने बढ्न सकेको छैन । मन्थलीमा घुम्ने, खाने र डुल्ने पर्यटक देखिँदैनन् । त्यसले पर्यटन क्षेत्रले अपेक्षा गरे अनुसारको योगदान पु¥याउन सकेको छैन । 

मन्थली विमानस्थलबाट दैनिक झन्डै पाँच सयको हाराहारीमा विदेशी पर्यटक लुक्ला पुगे पनि मन्थलीका होटल, पसल तथा रेस्टुरेन्टहरूको व्यापार भने सामान्य रहेको रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष शेखरमान श्रेष्ठले बताउनुभयो । “मन्थली विमानस्थल विदेशी पर्यटकले भरिभराउ भए पनि बजार क्षेत्रका खासै छैनन्, काठमाडौँबाट विभिन्न ट्राभल्स एजेन्सीले गाडीबाट मन्थली विमानस्थलसम्म ल्याउने र सिधै लुक्ला पठाउने गरेका छन्,” उहाँले भन्नुभयो । मन्थलीमा दैनिक एक हजारसम्म पर्यटकलाई व्यवस्थित बसोबास र खानपिनको राम्रो सेवा दिन सक्ने उहाँले बताउनुभयो ।