• ९ मंसिर २०८१, आइतबार

‘तिमी’ बिपी, गणेशमान र पत्रकार

blog

तपाईं र तिमी जस्ता आदरार्थी प्रयोगमा आधुनिक व्याकरणकारको समाजपरक दृष्टिकोण छ । उनीहरू समाजमा प्रचलित कथ्य निकटको औपचारिक र मानक अर्थात् भाषा सामान्यका सामग्रीको वर्णन, विश्लेषण गरी दृष्टिकोण तय गर्छन् । भाषा विज्ञानले झैँ भाषाविशेषका सामग्रीसहित विश्लेषण गर्दैनन् । राजनीतिक नेताहरू सामन्ती र पुँजीवादी समाजमा भाषालाई पनि परिवर्तनका दृष्टिकोणले अथ्र्याउँछन् । पत्रकारहरू भाषामार्फत जनतालाई तथ्य सुसूचित गर्दै र विचार निर्माण गराउँदै समाज परिवर्तनको आकाङ्क्षा राख्छन् । 

यस सन्दर्भमा नेपाली व्याकरणतिर फर्किंदा आधुनिक व्याकरणकार हेमाङ्गराज अधिकारीको ‘समसामयिक व्याकरण’ र त्रिभुवन विश्वविद्यालयको ‘अनिवार्य नेपाली शिक्षण निर्देशन’ जस्ता कृतिमा आगन्तुक (मौसुफ, सरकार हजुर) र तद्भव आदरार्थी (तिमी र तपाईं) आदरार्थी प्रयोगका बारेमा समाजपरक विश्लेषण र व्याख्या देखिन्छ । राजनीतिज्ञलाई हेर्ने हो भने बिपी (विश्वेश्वरप्रसाद कोइराला) र गणेशमान सिंहमा तिमी होइन, तपाईं आदरार्थी प्रयोग गर्नुपर्ने चिन्तन भेटिन्छ तर प्रजातन्त्र र गणतन्त्रमा हुर्कंदै आएका केही पत्रकारले बिपी र गणेशमानको चिन्तन अनुसरण गर्न सकेको देखिन्न । उनीहरूले समाचार निर्माणका औपचारिक कार्यक्रममा प्रयुक्त उच्च आदरार्थी (तपाईं) लाई नेपाली साहित्य, समालोचना र शिक्षणमा प्रयोग हुने तिमी आदरार्थी जस्तै आफ्नातर्फबाट मध्यम आदरार्थी (तिमी) मा परिवर्तन गरेको बुझिन्छ । यसरी परिवर्तित तिमी कागजी छापा, विद्युतीय छापा, टिभी, युट्युब र रेडियो आदिबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न उच्च र सामान्य तहका व्यक्तिलाई प्रयोग गरेको देखिएको र सुनिएको छ । 

जसरी तँ, तिमी र तपाईं प्रयोगमा नेपाली समाज विभक्त छ, त्यसरी नै साहित्यको भाषाशैली वा कोड पनि विभक्त छ । साहित्यलाई समाजको ऐना मानिन्छ, साहित्यकारले आफ्नो कृतिमा समाजको प्रतिविम्ब उतारेका हुन्छन् । साहित्य भनेको संवेगात्मक र रागात्मक मनोग्रन्थीको अभिव्यक्ति हो । पत्रकारिताको औपचारिक समाचार यस्तो मनोग्रन्थीको अभिव्यक्ति होइन । साहित्यमा पत्रकारितामा जस्तो वस्तुगत अभिव्यक्तिको अपेक्षा राखिन्न । आदरार्थीका दृष्टिले समालोचक र शिक्षक पनि औपचारिक बनेर प्रस्तुत हुँदैनन् । सामान्य साहित्यकार मात्र होइन, चाहे बादसाह नै किन नहोस्, साहित्य वा समालोचनाका क्षेत्रमा आउँदा औपचारिक बन्दैन । पत्रकारहरू आफ्नो पेसाका दृष्टिले न त शिक्षक हुन्, न त समालोचक वा साहित्यकार । 

नेपालीमा आदरार्थीका तहलाई भाषाको विशिष्ट विशेषता मानिन्छ । सुदीर्घ सनातन धर्म र सभ्यताबाट अनुप्राणित हुँदै संस्कृतबाट विकसित भएका भाषामा आदरार्थी पाइन्छन् । आदरार्थी सर्वनामसँग नेपाली समाजको संस्कार, संस्कृति र शिष्टाचारको सम्बन्ध गाँसिएको हुन्छ । सामाजिक भेद बढ्दै जाँदा नेपाली सामन्ती दरबारिया शासक वर्गका जाति र थरहरूका लागि मात्र प्रयोग गरिने औपचारिक आदरार्थीहरूले प्रवेश पाएका थिए । ती आदरार्थी हजुर, मौसुफ, सरकार सर्वनाम र बक्सनु व्रिmया हुन् । यिनीहरू सनातन धर्म, सभ्यता र शिष्टाचारभिन्न आगन्तुक वा आयातित आदरार्थी हुन् । यस्ता आदरार्थीलाई उल्लिखित व्याकरणका कृतिले उच्चतर र उच्चतम आदरार्थी भनी चिनाएका छन् । अहिले औपचारिक पत्रकारिताका केही पत्रकारले कागजी छापा, विद्युतीय छापा, टिभी, युट्युब र रेडियोबाट आगन्तुक आदरार्थीसँग मिसमास पारी नेपाली भाषाको मौलिक आदरार्थी (तपाईं) लाईसमेत हटाएको देखिन्छ ।  

आदरार्थीका बारेमा नेपाली भाषाको आधिकारिक कोशले के भन्छ हेर्न सकिन्छ । ‘नेपाली बृहत् शब्दकोश’ (२०६७) ले संस्कृत भाषाको द्वितीय पुरुष एकवचन त्वम् एउटै सर्वनामबाट तँ, तिमी र तपाईं जस्ता तीन वटा सर्वनाम विकसित ठानेको छ । कोशमा अर्थ गर्दा औपचारिक प्रसङ्गमा आपूmभन्दा मान्य जनलाई तिमी भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने द्वितीय पुरुष एकवचनको आदरार्थी तपाईं हो, भनिएको छ । तिमी सर्वनामको अर्थ लेख्दा तँभन्दा माथिल्लो र तपाईंभन्दा तल्लो श्रेणीको आदरार्थी भनी अर्थ लेखिएको छ । समग्रमा अर्थ हेर्दा तपाईंलाई औपचारिक प्रसङ्गमा प्रयोग हुने आदरार्थी भनेको देखिन्छ भने तिमीलाई औपचारिक प्रसङ्गमा प्रयोग हुने आदरार्थी भनेको देखिँदैन तर केही पत्रकारले भने शब्दकोशको अर्थविपरीत आफ्नातर्फबाट औपचारिक प्रसङ्गमा तपाईंभन्दा तल्लो ठानिने तिमी आदरार्थीको प्रयोग गरेका छन् । 

विसं २००७ को जनक्रान्तिले सामन्ती राज्य व्यवस्था मिल्कायो तर शासक वा दरबारिया वर्गलाई चिनाउने आयातीय वा तद्भव आदरार्थी (मौसुफ, सरकार, हजुर, बक्सनु) मिल्काउन सकेन । प्रजातन्त्रको सूत्रपात भए पनि संवादमा दरबारले उति बेला नेपाली जनतालाई तपाईं भन्न सकेको थिएन । गणतन्त्रको युग आएपछि पत्रकारहरूले पनि नेपाली भाषामा औपचारिक समाचार सम्प्रेषण गर्दा जनतालाई तपाईं भन्न सकेको देखिएन । लाग्छ, पत्रकारका लागि सामन्ती वर्गका शासक, जाति र थरलाई प्रयोग गरिने आदरार्थी (मौसुफ, हजुर, सरकार) सरह सम्पूर्ण नेपाली जनतालाई आदर गर्न प्रयोग हुने तपाईं आदरार्थी पनि एउटै बन्न पुगेछ । तपाईं आदरार्थीका बारेमा बिपी र गणेशमान सिंहका विचार स्मरणीय छन् । नेपाली कांग्रेसका नेता प्रदीप गिरी सम्पादित ‘विश्वेश्वरप्रसाद कोइरालाका प्रतिनिधि सङ्कलन’ अन्तर्गत रहेको ‘श्री ५ को दर्शन भेटका अनुभूति’ भित्र बिपी र राजा वीरेन्द्रबिच भएको संवाद भेटिन्छ । संवादमा बिपीले राजालाई सरकार, मौसुफ, बक्सनु जस्ता आगन्तुक आदरार्थी प्रयोग गरेको देखिन्छ भने राजाले बिपीलाई तिमी आदरार्थी प्रयोग गरेको पाइन्छ । यस पङ्क्तिकारसँग पुरानो पुनर्जागरण पत्रिका अहिले छैन । 

त्यतिखेरको पुनर्जागरणले राजा वीरेन्द्रसँग दर्शन भेट भएपछि बिपी र गणेशमानबिच भएको संवाद प्रकाशित गरेको थियो । संवादमा गणेशमानको सोधाइको आशय थियो, बिपी बाबु ! दर्शन भेटमा तपाईंलाई राजाबाट तपाईं भनियो कि तिमी ? बिपीको जबाफ थियो, म राजाबाट सबै नेपालीलाई तपाईं भनाउन दर्शन भेटमा गएको हुँ, । मलाई राजाले तपाईं वा तिमी भन्नुको कुनै अर्थ छैन । किनभने उहिले राजा, दरबारिया, शासक वर्गका जाति र थरले द्वितीय पुरुषसँगको संवादमा श्रोता र तृतीय पुरुषलाई मध्यम आदरार्थी तिमी, उन, उनी, यिन, यिनी, तिन, तिनी आदि प्रयोग गर्दथे । अहिले बुझेर वा नबुझेर पत्रकारहरूबाट औपचारिक भाषिक प्रसङ्गको प्रसारणमा यसको नक्कल गरेको देख्न र सुन्न सकिन्छ ।  

राजा वीरेन्द्रसँग गणेशमान सिंहको पनि दर्शन भेट भएको थियो । राजाबाट गणेशमान सिंहलाई पनि तिमी मध्यम आदरार्थी प्रयोग गरिए छ । बिपीलाई झैँ गणेशमान सिंहलाई तिमी आदरार्थीको प्रयोग पाच्य भएन । बोलीचालीहरूमा जनताभन्दा भिन्न पहिचान बनाएका नेपाली शासक वर्गमा द्वितीय वा अन्य पुरुषलाई वक्ताको भन्दा तल्लो दर्जामा राखेर आदरार्थी प्रयोग गर्ने स्वभावै थियो । गणेशमानले आफ्ना हजुर बा (त्रिभुवन) र बा (महेन्द्र) सँग काम गरेको व्यक्तिलाई सरकार (राजा) ले तिमी भन्न हुँदैन, सम्मान गरेर बोल्नु पर्छ भनेपछि तत्कालीन राष्ट्रप्रमुख वीरेन्द्रवीरविक्रम शाहबाट तिमी आदरार्थी प्रयोग भएन । भनिन्छ, त्यही भेटपछि राजा वीरेन्द्रलाई तिमी आदरार्थीको प्रयोग ग्राह्य भएन ।

औपचारिक भाषा प्रयोग गर्ने हो भने नेपाली व्याकरण र नेपाली बृहत् शब्दकोशले तपाईं आदरार्थी प्रयोग गर्न लगाउँछन् । बिपीको भाषा चिन्तनले सबै नेपालीलाई तपाईं भन्न र भनाउन आपूm प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउँछ । गणेशमान सिंहले चाहिँ तिमी आदरार्थी प्रयोग गर्ने राजा वीरेन्द्रलाई सम्मानको भाषा ( तपाईं) बोल्न सिकाएको देखिन्छ । अहिले जीवित नेतामध्ये तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विसं २०७८ को असार १८।१९ गतेतिर औपचारिक भाषा तिमी आदरार्थी प्रयोग गर्ने पत्रकारलाई कटाक्ष गरेको पाइन्छ । ओली निकट नेपाल प्रेस सङ्गठनको भेलामा यो कटाक्ष गरिएको थियो, “आफूभन्दा ठुलालाई गर्ने आदर फरक हुन्छ तर पत्रकारले आफ्नो संस्कृति बिर्सिएर पश्चिमा संस्कृति अँगाल्न खोज्दा आदर गर्ने संस्कार बिर्सिएको देखिन्छ ।”

केपी ओलीको यो कटाक्षपूर्ण अभिव्यक्ति सुनियो तर बिपी र गणेशमानको झैँ परिणाम देख्न सकिएन । उहिले तिमी भन्नेलाई दरबारभित्र पसी हप्काउने र सम्मान गर्न सिकाउने गणेशमान जस्ता नेता थिए । अहिले तिमी भन्ने दरबारको स्थान अखबार (पत्रकार) ले लिएका छन् । के नेपाली आधुनिक व्याकरण, नेपाली बृहत् शब्दकोश, बिपी, गणेशमान र केपी ओलीको भनाइविपरीत केही पत्रकार वा अखबारले प्रयोग गर्दैमा नेपाली व्याकरणविद् र कोशकारले तिमी र तपार्ईं दुवैलाई औपचारिक नेपाली भाषामा समान वा एउटै उच्च आदरार्थी बनाउन सक्लान् र ?

  

Author

प्राडा शर्वराज आचार्य