• ३० वैशाख २०८२, मङ्गलबार

बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत

blog

बेलहिया नाकामा पर्यटकलाई स्वागत गर्ने क्रममा नाट्टाका प्रतिनिधिहरु । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, असोज १० गते ।
स्थल नाका हुँदै नेपाल आएका विदेशी पर्यटकलाई बुधबार बेलहिया नाकामा भव्य स्वागत गरिएको छ । ४४औं विश्व पर्यटन दिवसको अवसरमा स्थलमार्ग हुँदै आएका पहिलो पाँच जना पर्यटकलाई बेलहिया नाकामा स्वागत गरिएको हो ।

नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनीले बेलहिया नाकाबाट पहिलो प्रवेश गर्ने पाँचजना विदेशी पर्यटकलाई स्वागत गरेको हो । नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाको नेतृत्वमा समितिका पदाधिकारी, सुरक्षाकर्मी स्थानीयहरुले नेपाल प्रवेश गरेका टाम नुगएन, ठुये डाओ, आन नुगएन, लुने लाम र ह्वाङ थ्रुङलाई स्वागत गर्नुभएको थियो ।

विदेशी पर्यटकमाझ सकारात्मक सन्देश प्रवाह गर्न जापानी मूलका पाँच जना अमेरिकी नागरिकलाई नेपाली संस्कृति अनुसार ढाका टोपी, रातो टीका र खादा लगाइदिएर स्वागत गरेको नाट्टाकी प्रदेश अध्यक्ष रचना पन्तले बताउनुभयो ।

उहाँले बुधबार दिनभरि नै पर्यटन दिवस हर्ष उल्लासका साथ मनाउने तयारी गरिएको बताउनुभयो । दिवसको समापन १३ गते जितगढ़ीमा काठमाडौंबाट आउने साइकलयात्रीहरुलाई स्वागत गरेर गरिने पन्तले बताउनुभयो ।

यस्तै, ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा पनि बुधबार बिहान पर्यटकलाइ स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गर्नुभएको हो ।

लुम्बिनी विकास कोष र लुम्बिनी होटल सङ्घ नेपालले संयुक्त रूपमा पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका हुन् ।

पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै लुम्बिनी भ्रमणका लागि आह्वान गर्नुभयो । उहाँले विश्व पर्यटन दिवसको अवसर विश्वले बुद्व जन्मस्थल लुम्बिनीलाई बुद्धमार्गीकाे भ्रमण केन्द्रको थलो बनाउन आग्रह गर्नुभयो ।