• ९ मंसिर २०८१, आइतबार

भक्तपुरमा आजदेखि इन्द्रजात्रा सुरु

blog

भक्तपुर, असोज  ९ गते ।  भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आजखेखि आठ दिनसम्म इन्द्रजात्रा पर्व सुरु भएको छ । 

जात्राको पहिलो दिन आज नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिङ्गा ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन स्थानीयवासीमा यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ जानकारी दिनुहुन्छ । 

दोस्रो दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भन्ने प्रचलन रहेको छ । तेस्रो दिन साँझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराएर बाजागाजासहित धुमधामसँग जात्रा गरी सिद्धपोखरीमा लाने प्रचलन छ । यस दिन रातभरि सिद्धपोखरी अर्थात् इन्द्रदहमा देवतालाई राखी मेला भर्ने गरिन्छ ।

चौथो दिन स्थनीयवासीले बिहानै सिद्ध पोखरी पुगेर इन्द्रदह स्नान गर्दछन् । यसदिन बिहानैदेखि सिद्धपोखरीमा उनीहरूकोे भीड लाग्ने गर्दछ । त्यसदिन समय् (भोज) चढाउने र सोही प्रसाद खाएर ययापुन्ही मानिन्छ । समय्बजीमा छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काँक्रो विशेष रूपले खाने चलन छ । बेलुकी इन्द्रायणी देवीलाई पुनः बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराएर देवगृह देवता भित्र्याउने गरिन्छ । 

पाँचौं दिन नित्य पूजा र आरती गरिन्छ भने  छैठौँ दिन इन्द्रजात्रा उत्सवको रूपमा विशेष महत्वसाथ सला गणेश, यामता, मुपात्र जात्रा मनाउने गरिन्छ । 

त्यसदिन तचपाल टोलबाट ‘यामता’ इन्द्रबत्ती बालेर जात्रा शुभारम्भ गरिन्छ । यहाँ दतात्रय मन्दिर सामुन्नेको विशाल चोकमा जात्रा हेर्नेको ठूलो भीड लाग्ने गर्दछ । साकुलान टोलका मानन्धरहरूले बाँसले बनेको त्रिशूल आकारको यामतालाई आँगनमा भैरवनाथका सामुन्नेमा राखी विधिवत् पूजा गर्ने गर्दछन् । 

जात्राको सातौँ दिन दिन चोछे टोलका छुमा गणेश र गोलमढी टोलका मानन्धरहरूले यामतासहित देश परिक्रमा गरी जात्रा मनाउछन् । मूपात्र पनि आङ्खना दुईजना धिचाहरूले अघिल्लो दिनमा जस्तै नगर परिक्रमाका क्रममा सामुन्ने परेका यम्बद्यःहरूलाई खड्गले प्रहार गर्दै जात्रा मनाउने गर्छन् । जात्राको अन्तिम दिन आश्विनकृष्ण चतुर्थीमा भैरवनाथको जात्रा, पुलुभैलद्य जात्रा, यामता जात्रा, पुलुकिसी जात्रा, मूपात्र जात्रा मनाउने गरिन्छ । 

इन्द्रजात्राको समापनका दिन धूमधामसँग जात्रा मनाउने प्रचलन छ । यस दिनमा टौमढी टोलका भैरवनाथलाई रथमा राखी देश परिक्रमा गरी जात्रा चलाइन्छ । जात्रामा तेखाचोका मानन्धरहरूले दुईवटा यामता ल्याउने र  बुलुचाहिटी सामुन्ने चखुन्चाफल्चातिर अभिमुख गरी यामता बालेर भैरवनाथको जात्रामा सरिक गराउने गरिएको  स्थानीयवासी विजयप्रसाद धौभडेल बताउनुहुन्छ ।

त्यसदिन भैरवनाथको मन्दिरको भित्तामा झुण्ड्याइराखेको पुलु भैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव)को जात्रा पनि चलाउने उहाँ जानकारी दिनुपहुन्छ । ठाउँ–ठाउँमा छ्वाली बाल्दै निलो पहिरनमा सेतो वर्णको पुलुकिसीको जात्रा पनि यहाँ मनाइन्छ । भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरिँदै धिचासहित भएर मूपात्रको जात्रा पनि चल्ने उहाँ उल्लेख गर्नुुहुन्छ  । 

इतिहासविद् प्रा.डा. श्रेष्ठका अनुसार गणेश चतुर्थीका दिनमा वसुन्धराले व्रत बस्दा पूजाका लागि चाहिने ‘खाइसी’ (काली ज्यामिरेका जातिको एक किसिमको तितो अमिलो फल) र पारिजातको फूल लिन उनका छोरा इन्द्र स्वर्गलोकबाट सुटुक्क पृथ्वीलोकमा झरेका थिए । उनले फलफूल चोरेको यहाँका बासिन्दाले थाहा पाएपछि उनलाई पक्रेर चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखेका थिए । 

इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि आमा वसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन्  र शीत र हुस्सुले वातावरणलाई छोपेर  कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किम्वदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात् पुलुकिसी जात्रा मनाउने प्रचलन छ । 

अर्को किम्वदन्तीअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्‍य ाे । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पृथ्वीमा पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधिराखे  । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लडाइँ गरे ।

लडाइँमा इन्द्रको विजय भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । त्यस क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रमा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किंवदन्ती रहेको इतिहास तथा संस्कृतिविद् प्रा.डा. श्रेष्ठ बताउनुहुन्छ ।

जात्रामा पुलुकिसीले केही गरी मुपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने पूर्वमान्यता रहँदै आएको छ । पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।  

इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्मपुराण सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएका थिए । रासस