• १३ साउन २०८१, आइतबार

केरा आयातमा कडाइ

blog

काठमाडौँ, असोज ९ गते । केरामा ‘पानामा’ रोग फेला परेपछि सरकारले केरा आयातमा सतर्कता अपनाउन थालेको छ । 

भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिने केराको माध्यमबाट रोग पनि भित्रिन सकिने सम्भावना भएकाले त्यसका लागि सतर्कता अपनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

कैलालीको टीकापुरमा ‘टिआर–४ पानामा’ फेला परेपछि देशैभर सतर्कता अपनाउन कृषि मन्त्रालयले सर्कुलर जारी गरेको छ । भारतबाट हुने केरासँगै रोग भित्रिन नदिन अहिले नेपालभरिका नाकामा रहेका ‘प्लान्ट क्वारेन्टाइन’ ले उच्च सतर्कता अपनाएको मन्त्रालयले जनाएको छ । 

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै टायर सफा गर्ने र उताबाट आएको माटो कतै टाँसिएर रहेको नरहेको सुनिश्चित भएपछि मात्र नाकाबाट गाडी पठाउने गरेको छ । यो सबै काम प्लान्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ । 

करिब १४ वर्षअघि नेपालमा पानामा रोगको ‘रेस–१’ भारतबाट भित्रिएको अनुमान गरिएको छ, फेरि त्यसरी रोग नभित्रियोस् भनेर नाकाहरूमा सतर्कता अपनाइएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताउनुभयो । 

नयाँ प्रजाति ‘पानामा (टिआर–४)’ ले सबै जातका केरामा लाग्न सक्ने भएकाले देशैभरि उच्च सतर्कता अपनाइएको मन्त्रालयले जनाएको छ । पानामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने गरेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलिने गर्छ र त्यसले रोग लाग्ने गरेको मन्त्रालयको सूचनामा उल्लेख छ ।