• १३ साउन २०८१, आइतबार

जलवायु परिवर्तनले कृषिमा असर, उत्पादन घट्ने

blog

पसाउने समयमा सुकेर पहेँलो भएको कावासोती –९ मा लगाइएको धानखेती । तस्बिर : मीना कँडेल

मीना कँडेल

कावासोती, असोज ८ गते । जलवायु परिवर्तनका कारण कृषिमा बढी असर पर्दा कृषक चिन्तित बनेका छन् । जसका कारण समयमा पानी नपर्नु, तापक्रम वृद्धि हुनुलगायतका समस्याले कृषि क्षेत्रमा विभिन्न समस्या देखिन थालेको किसानहरुको बुझाइ छ ।  

पहिले जैविक मल मात्र प्रयोग गरेर पनि राम्रो उत्पादन हुने भए पनि पछिल्लो समय रासायनिक मल राखेर खेती गर्दा पनि लागतअनुसारको उत्पादन नहुने गरेको कृषकको भनाइ छ । हरेक वर्ष देखिने नयाँ किरा र रोगको प्रकोपले पनि किसान समस्यामा छन् । 

कावासोती वडा ९ का विष्णुप्रसाद पोख्रेलको आम्दानीको मुख्य स्रोत नै कृषि हो । कृषि कार्यमा लागेको दुई दशकभन्दा बढी भयो । उहाँको जमिनमा केही वर्ष यता उत्पादन घट्न थालेको उहाँले बताउनुभयो । पाँच वर्ष अगाडिसम्म १४ कठ्ठामा ४५ मुुरीसम्म धान उत्पादन भए पनि अहिले मुस्किलले २६–२७ मुरीसम्म उत्पादन हुनेगरेको उहाँले बताउनुभयो ।

तीन खेती हुने जमिनमा अहिले एक खेतीमात्र हुनेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले थोरै जग्गामा पनि राम्रो उत्पादन हुन्थ्यो । रासायनिक मलको प्रयोग नै गरिँदैनथ्यो । अहिले खेती रोप्ने समयमा पानी पर्दैन । धान फल्ने समयमा रोगले १४ कठ्ठामा धान सुकेर पहेँलो भएको छ । के भएको थाहै भएन ?”

कावासोती –१२ का खेमप्रसाद काफ्ले १० वर्ष अघि खेती गर्दाको अनुभव सुनाउँदै भन्नुभयो, “त्यो समयमा हामीलाई यो रासायनिक मल भन्ने पनि थाहा थिएन । गाइभैँसीको मल राखेर खेती गर्दा उत्पादन पनि राम्रो हुन्थ्यो । अहिले रासायनिक मलबिना खेती नै हुँदैन । रोगको जोखिम उस्तै छ । यो सब जलवायु परिवर्तनले गर्दा भएको हो ।” 

कृषि भूमि कम हुँदै जाँदा कृषिमा सीधा असर पुगेको उहाँको भनाइ छ । समयमा पानी नपर्नु, नयाँ–नयाँ रोगहरु कृषि क्षेत्रमा देखिनाले पछिल्लो समय किसानको उत्पादनभन्दा लागत खर्च बढी लाग्ने गरेको उहाँले बताउनुभयो । 

नयाँ प्रजातिका वनस्पतिको फैलावट तथा रोग र किराको प्रकोपमा वृद्धिजस्ता समस्याहरू कृषिमा देखापर्दा किसान प्रत्यक्ष प्रभावित भएको देवचुली –११ का राजु चापागाईंको भनाइ छ । पाँच वर्ष अघिसम्म धान, मकै, तोरी लगाउने कृषकले अहिले एक खेती मात्र गर्नेगरेको बताउने गर्छन् ।      

कृषिमा नयाँ–नयाँ प्रविधिको प्रयोग र हावापानीअनुरुपको बीउको प्रयोग गर्न सकेमा यसको जोखिम कम गर्न सकिने कृषि ज्ञान केन्द्र नवलपुरका बालीविद् मीरा चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तन तत्काल रोक्न सकिदैन । यो विश्वव्यापी समस्या हो । तर हामीले बदलिँदो हावापानी अनुसारको खेती लगाउने र प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ । नयाँ–नयाँ कृषि प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ । जसले उत्पादमा सहयोग गर्छ ।” 

कृषिको उत्पादकत्व पूर्णरूपमा मौसम, जलवायु तथा पानीको उपलब्धतामा निर्भर हुन्छ । एकातिर जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमा परिराखेको छ भने अप्रत्यक्ष प्रभाव आय र अन्नको बढ्दो मूल्यसँग सम्बन्धित छ । कृषिका लागि माटो पनि जलवायुबाट प्रभावित भइरहेको छ ।