• २१ कात्तिक २०८१, बुधबार

१९० जना ज्येष्ठ नागरिक मुक्तिनाथको यात्रामा

blog

तीर्थयात्रामा निस्केका ज्येष्ठनागरिकहरु । तस्बिर : नारायण अवस्थी

अविनाश चौधरी

धनगढी, असोज ७ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका १९० जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमअनुसार १९ वटै वडाबाट छनोट गरेर धनगढी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थाटनमा पठाएको हो । 

उहाँहरूलाई आज एक कार्यक्रमबीच नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानाले बिदाइ गर्नुभयो । साथै, ज्येष्ठ नागरिकलाई लौरो पनि प्रदान गरिएको छ । 

स्थानीय तहले सम्मानस्वरुप ज्येष्ठ नागरिकलाई तीर्थ यात्रामा पठाएको नगर प्रमुख हमालले बताउनुभयो । उहाँहरूलाई बिदाइ गर्दै उहाँले यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने बताउनुभयो । 

“यसले जीवनको उत्तरार्धमा स्थानीय सरकार साथमा रहेको र सम्मान गरेको ज्येष्ठ नागरिकलाई महसुस हुनेछ” नगर प्रमुख हमालले भन्नुभयो, “धार्मिक पर्यटन विकासमा टेवा पनि यस अभियानले पुग्नेछ ।”

ज्येष्ठ नागरिकहरुले एक हप्तासम्म मुक्तिनाथ धामको साथै कागबेनी, पोखरा, देवघाट, नवलपरासीको कैवल्यधामको भ्रमण गर्ने जनाइएको छ । उहाँहरूको साथमा स्वास्थ्यकर्मीसमेत पठाइएको प्रमुख हमालले बताउनुभयो ।