• २० असोज २०८१, आइतबार

जुम्लामा धार्मिक पर्यटकीय मेला सुरु

blog

जुम्लाको हिमा गाउँपालिका बड्कीमा परम्परागत जात्रा । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, असोज ७ गते । जुम्लामा मष्टो परम्पराको धार्मिक मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक महत्त्व राख्ने यी मेला सुरु भएपछि अहिले यस क्षेत्रमा भिडभाड बढेको छ । जानकारहरूका अनुसार जनैपूर्णिमाका दिनबाट कर्णालीमा सुरु हुने मेला सुरु भएपछि गाउँमा चहलपहल बढेको हो । 

धार्मिक आस्थाका जानकारहरूका अनुसार जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका दिनबाट औपचारिक रूपमा मेला सुरु हुने गर्छ । अहिले गाउँमा मेला भएपछि मानिसहरूको जमघट हुने, देउडा खेलेर रमाइलो गर्ने काम गरिरहेका छन् । 

धार्मिक अगुवा तथा हिमा गाउँपालिका वडा नम्बर १ कालासिल्लाका धामी भक्तबहादुर शाहीका अनुसार यस समयमा मष्टो सहितका देवताहरूको पूजाआजा व्यापक भएको छ । उहाँका अनुसार जुम्ला मात्रै नभई कर्णालीका विभिन्न जिल्लामा यी धार्मिक मेला हुने चलन छ । उहाँका अनुसार यस क्षेत्रमा यो सिजनमा बाह्रभाई मष्टो, वाविरा, महादेव, भैरवनाथ, कैलास, कालिका, मालिका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, राहदेव, झ्यादेव सहितका दर्जनौँ देउताहरूको पूजाआजा हुने गर्दछ । यी देवताका मेलाहरूले आन्तरिक पर्यटकहरूको जमघट, आर्थिक चहलपहलदेखि विभिन्न काम हुने गर्छ । 

शुक्रबार हिमा गाउँपालिकाको बड्की, सिञ्जा गाउँपालिकाको बिष्टबाडामा वृहत् कालासिल्ला देवताको पैठ (जात्रा) सम्पन्न भएका छन् । हिमा गाउँपालिकाको बड्कीमा ५ हजार बढी धार्मिक अगुवा तथा भक्तजनहरूको उपस्थिति छ । कालिकोट, मुगु, जुम्लाका भक्तजन तथा देउडा खेलाडीको उपस्थिति भएको थियो ।  

भक्तजनहरूको देवताले दुख सुखमा साथ दिने विश्वासका साथ हरेक गाउँमा कुल पूजा गर्दै आउने चलन छ । यस अन्तर्गत अहिले जिल्लाका धेरै स्थानमा कुलपूजा हुन्छ । विभिन्न तिथिमा विभिन्न देवताको पूजा गरिँदै आउने चलनले यतिबेला कर्णालीका धार्मिक स्थानमा मानिसहरूको भिड हुने गर्दछ । वर्षभरी गरिने कामको थकान मेटाउने र रमाइलो गर्ने हिसाबले पूजाआजा गर्ने धार्मिक मान्यता पनि छ । 

यस समयमा हरेक गाउँमा धार्मिक आस्था अनुसार मन्दिर तथा थान बनाएर पूजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापताकाले रंग्याउने कार्य बढी हुन्छ । पूजाको दिनमा स्थानीयले नयाँ परिकारहरू बनाउने चलन पनि रहेको हिमा गाउँपालिका १ निवासी तथा कालासिल्लाका देवताका पुजारी वीरबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार कात्तिक पूर्णिमासम्म विभिन्न पूजाआजा हुने गर्दछन्। 

धार्मिक पर्यटकीय महत्त्व बढाउ  

कर्णालीको मष्टो परम्परा सहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो । यसको प्रवर्द्धन गर्न आवश्यक रहेको सरोकारवाला निकाय बताउँछन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले धार्मिक पर्यटन पनि कर्णालीमा महत्त्वपूर्ण रहेको भन्दै यसको प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार यसलाई पर्यटकीय महत्वको बारेमा अझै विकास गर्न अझै सकिएको छैन । अहिले आन्तरिक पर्यटक मात्र यस क्षेत्रमा घुम्ने गर्दछन् । तर बाह्रयपर्यटक भने यस क्षेत्रमा आकर्षण गराउने योजना बनेका देखिँदैनन्।