काठमाडौं, असोज ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज (शनिबार) चीन आइपुग्नुभएको छ ।
चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवम् चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयो । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि हुनुहुन्थ्यो ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड सो सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटवार्ता गर्नुहुने छ । उहाँहरू बिच सो सहरमा उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउनुहुने छ । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ । उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुहुनेछ । सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनुहुनेछ । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्नुहुने कार्यक्रम छ ।
यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची छ । यसैगरी उहाँले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नुहुने छ । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । सो अवसरमा नेपाल र चीनबिच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभागिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरू पनि यहाँ आइपुग्नुभएको छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कनुहुने कार्यक्रम छ ।
तस्बिरः प्रधानमन्त्रीको सचिवालय