• ८ मंसिर २०८१, शनिबार

घमण्ड (कविता)

blog

छिटै चढ्छ माथि ज्वरो

नाप्दा थर्मोमिटरमा पारो चढे जस्तै अहङ्कार

अनि त स्वयम्लाई बृहस्पति ठानेर

भुलिदिन्छ आफूले टेक्ने जमिन

दोस्रोलाई औकात सम्झाउँछ

पाठ पढाउँछ सौजन्य र सद्भावनाको

स्वयम् चुलिएर डिल नाघेको

चालै पाउँदैन र त पोखिइरहन्छ

पोखिइरहन्छ अनवरत ।


दोष आफैँमा थियो

हेर्नुपथ्र्यो आफैँभित्र गहिरिएर  

देखाएकै थिए तीन जना मित्रले

आफूलाई नै नियाँल भनेर

तर ऊ भने दोस्रोकै खोट खोजेर सधैँ

चोर औँला अरूतिरै ठड्याइरहन्छ

बुझ्दैन कहिल्यै सम्झाइरहेको

तीन औँलाले ऊ स्वयम्लाई दोषी देखाउँदै

खबरदारी गरेको ।


बुढी औँला स्वयम्कै औकात

तल झरेको सम्झाइरहेको छ

तर ध्यान त्यतातिर छैन उसको

आखिर घमण्ड न हो ऊ

बनिरहन्छ विवश चुलिनका लागि

आधामै पनि छचल्किँदै

घैँटो भत्काउन खोज्छ स्वयम्

आफ्नै नियति विपरीत बनेर

ऊ पोखिइरहन्छ अनवरत !