जानु पाण्डे
कपिलवस्तु, असोज २ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी चेकजाँच स्थलमै प्रशिक्षण दिने गरी अभियान चलाएको छ । कार्यालयले सवारी नियम उल्लङ्घन गर्ने चालक, सर्वसाधारणलाई चेकिङ स्थलमा जम्मा गरी सवारी दुर्घटना सम्बन्धी प्रशिक्षण दिने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार जरिवाना मात्र गर्दा सवारी चालक सचेत नहुने भएकोले प्रशिक्षणको अभियान सुरु गरेको बताउनुभयो ।
पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र बजार क्षेत्र जोड्ने मुख्यमार्गमा चेकजाँच सँगै प्रशिक्षण भएको बताइएको छ । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुसँग सोधपुछ गर्ने, सवारी चालक, सहचालक यात्रुहरूलाई सवारी नियम तथा दुर्घटनाको जोखिम कम गर्ने उपायहरू जानकारी दिने अस्थायी ट्राफिक प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक हुमनाथ पौडेलले बताउनुभयो।
चेकिङ स्थलमा १५ देखि २० जना जम्मा भएपछि ५ देखी १० मिनेटसम्म प्रशिक्षण सहितको छलफल गर्दै आएको छ । जिल्लामा साउन र भदौ महिनामा ३ हजार ६ सय २५ जना सवारी चालकलाई प्रशिक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । आठ वटा युनिट मार्फत ९१ पटक सवारी चेकजाँच स्थलमा प्रशिक्षण दिइएको थियो ।