• १३ साउन २०८१, आइतबार

कर्मचारी अभाव हुँदा अनुसन्धान सुस्त

blog

राष्ट्रिय सुन्तलाजात कार्यक्रम पारीपात्ले धनकुटा ।

कबिराज घिमिरे 

हिले, असोज २ गते । लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम प्रभावित भएको छ । अनुसन्धानका लागि आवश्यक कुल ३७ कर्मचारीको दरबन्दीमध्ये हाल ६ जना कर्मचारी मात्र छन् । 

हाल कार्यालयमा एक कार्यालय प्रमुख २ प्राविधिक सहायक, दुई प्रशासनतर्फका कर्मचारी र एक सवारीचालक मात्र रहेको कार्यालय प्रमुख उमेश आचार्यले जानकारी दिनुभयो । मुख्य वैज्ञानिक सहित ८ जना वैज्ञानिकको दरबन्दी रहेको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेमा हाल कार्यालय प्रमुख आचार्य मात्र कार्यरत हुनुहुन्छ । 

नयाँ जातको बिरुवा विकास गर्ने लक्ष्य सहित स्थापना भएको फलफूल प्रजनन प्रयोगशालामा अहिलेसम्म पदपूर्ति नै भएको छैन । फलफूल विज्ञमा दुई जनाको दरबन्दी रहेपनि एक मात्र कार्यरत छन् । प्राविधिक अधिकृतमा ५ जनामध्ये पाँचै जनाको कोटा खाली छ । ७ जना प्राविधिकको दरबन्दीमा सातै कोटा खाली छ । १३ जना प्राविधिक सहयोगीको दरबन्दीमा हाल २ जना मात्रै कार्यरत छन् । वैज्ञानिक तथा प्राविधिक अभावका कारण कृषकलाई सेवा समेत दिन नसकिएको कार्यालयका प्रमुख वरिष्ठ वैज्ञानिक उमेश आचार्य बताउनुहुन्छ । “काम त जसो त्यसो गरीरहेकै छौँ तर वैज्ञानिक र प्राविधिक नहुँदा धेरै समस्या भइरहेको छ जाती काम गर्नुपर्ने जसरी गर्नुपर्ने त्यो गर्न सकेको छैनौ” आचार्य भन्नुहुन्छ । 

अमिलो जातका फलफूल अन्तर्गत पर्ने सुन्तला, जुनार, कागती लगायतका प्रजाजीको नयाँ जात, रोग किरा, माटो परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको सो केन्द्रमा हाल वैज्ञानिक र प्राविधिक अभावका कारण कुनैपनि काम अघि बढ्न सकेको छैन । त्यस्तै रोग किरा, माटो, नयाँ सुद्ध बिरुवा परीक्षण र उत्पादनका लागि स्थापना गरिएका पाँच ल्याबमध्ये हाल टिस्युकल्चर, किटबिज्ञ, माटो परीक्षण र रोग परीक्षण लगायतका चार ल्याब वैज्ञानिक र प्राविधिक अभावका कारण बन्द रहेका छन् । 

पदपूर्ति गर्न सरकारलाई पत्राचार गरेपनि विनियम संशोधन गर्न लोकसेवा आयोग, कानुन मन्त्रालय, सामान्य प्रशासन, अर्थ मन्त्रालय सँगको रायहरू निष्कर्षमा पुग्न नसक्दा रिक्त दरबन्दी पूर्तिमा ढिलाइ भइरहेको आचार्यले जानकारी दिनुभयो ।

वि.सं. २०१८ सालमा हालको धनकुटा नगरपालिका वडा नं. १० पारिपात्लेमा कृषि अनुसन्धान केन्द्रका रूपमा स्थापित यस केन्द्रलाई २०५२ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो । यो नेपालको एकमात्र अमिलो जातको अध्ययन केन्द्र हो । 

चार सय रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रले हाल सुन्तला, जुनार, कागती सहित एक सय ५४ जातको अमिलो फलफूल जातको अनुसन्धान गर्दै आएको छ । हाल नेपालका पहाडी २२ जिल्लाको २५ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा अमिलोजातको फलफूलको खेती हुने गरेको छ । तर रोग किराको प्रकोप तथा नयाँ र उन्नत प्रजातिको विकास हुन नसक्दा उत्पादन भने बर्सेनि घट्दो छ । तर अनुसन्धान गर्ने स्थल भने कर्मचारी अभावका कारण थलिएको छ ।