• २१ वैशाख २०८१, शुक्रबार

फरक हुँदै तिज मनाउने तरिका

blog

काठमाडौँ, असोज २ गते । हिन्दु नारीको महान् चाड हरितालिका तिजका दिन सोमबार महिला विगतमा जस्तै शिवालयहरूमा गीत गाउँदै छमछमी नाचे । उनीहरू टिकटक बनाउन र सेल्फी खिच्न पनि व्यस्त बने । टिकटक बनाउने भिडमा महिला मात्र होइन, पुरुष पनि उत्तिकै थिए ।

पहिले पहिले पिर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएको तिजका भाका गुन्जिन्थ्यो । सासूबुहारीका कुरा, थिचोमिचो अनि विरह, वेदना मिसिएका गीतले हरितालिका तिजमा रौनक थप्थ्यो । यस पटक भने अहिलेका चर्चित गीतले तिजमा स्थान लिएको देखियो । ती गीत सुन्दा अब नेपाली महिलालाई दुःख नै छैन, वेदना बाँड्ने माध्यम नै छैन जस्तो लाग्छ । प्रायः यस पालि महिला ‘हट एन्ड सेक्सी’ तथा ‘डान्सिङ नम्बर’ हरूमा समूह बनाई नाचेका भेटिए ।

२७ वर्षीया रमिता विष्ट यसरी नै आधुनिक तरिकाले तिज मनाउनेमध्ये एक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले आधुनिकताको जमाना हो । तिज भन्नेबित्तिकै दुःख र वेदनाको गीत गाउने र नाच्ने भन्ने होइन; यो पर्व त दिदीबहिनी भेटघाट गरी रमाइलो गर्ने हो ।”

मुख्य गरी तिज भाद्रशुक्ल द्वितीयाका दिन दरिलो खाद्य पदार्थ दर खाएर मनाइन्छ । तृतीयामा व्रत बसेर मनाउने र पञ्चमीमा पूजाआजा गरेपछि समाप्त हुन्छ । यहीबिच मौलिकता मिसिएका गीत गाइन्छ । विष्टका अनुसार व्रत भनेर केही पनि नखाई बस्नु मूर्खता हो । “फलफूल, जुस, पानी प्रशस्त मात्रामा खानु पर्छ अनि रमाइलो गरी नाच्नु पर्छ,” उहाँ भन्नुहुन्छ ।

तिजका गीतलाई पनि फेसनका रूपमा लिन थालिएको छ । तिज भन्नेबित्तिकै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने परम्परा पनि बिस्तारै हराउँदै गएको छ ।

विश्वकर्मा पूजा

देशभर विभिन्न मेसिनरी सामग्री तथा फलामको पूजा गरी सोमबार विश्वकर्मा पूजा मनाइएको छ । वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पूजा मनाइने गरिन्छ । यस दिन विश्वकर्मा बाबाको पूजा आराधना गरी विभिन्न कलकारखाना, पार्टपुर्जा, यन्त्र, फलाम आदिको पूजाआजा गरिन्छ ।