• १६ वैशाख २०८१, आइतबार

विस्फाेटले ढकेरी–सम्शेरगन्ज सडकखण्डमा खाल्डो

blog

राप्तीसोनारी ८ स्थित चङ्गाई नालाछेउको सडकमा परेको खाल्डो । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, भदौ ३१ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका ८, नयाँगाउँ नजिकै ढकेरी–सम्शेरगन्ज सडकखण्डमा एक्कासि ठूलो खाल्डो (भ्वाङ) परेको पाइएको छ ।

राप्ती सोनारी ९ ढकेरीदेखि करीव ३ किलोमिटर पूर्व शम्सेरगन्जतर्फ चङ्गाई नालाछेउको सडकमा एक्कासि ठूलो खाल्डो देखिएको स्थानीय पत्रकार कविन्द्र परियारले जानकारी दिनुभयो । परियारले भन्नुभयो, “द्वन्द्वकालमा लुकाएर राखिएका कुनै विस्फाेटक पदार्थ विस्फाेट भएजस्तो देखिन्छ, विस्फाेटनबाट झण्डैै तीन सय मिटर टाढासम्म सडकको कालोपत्रेका टुक्राहरु पुगेका छन् ।” 

राप्ती सोनारी ९ का वडाध्यक्ष सोहनलाल थारुले उक्त सडकमा बम विस्फाेट भई खाडल परेको बताउनुभयो । थारुले भन्नुभयो, “कुनै विस्फाेटक पदार्थ विस्फाेट भई खाडल परेको हो, तर कसले कसरी किन भन्ने बारेमा प्रहरीले अनुसन्धान गर्दैछ ।”

सडकमा एक्कासि देखिएको खाल्डोका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो । 

तिवारीले भन्नुभयो, “कुनै विस्फाेटक पदार्थ विस्फाेट भएर सडकमा खाल्डो परेको जस्तो देखिन्छ, विस्फाेटबाट तीन फीट गहिराइ र करिब ४० फिट गोलो सर्कलमा खाडल परेको छ, घटनास्थलमा पुरानो तारका टुक्राहरु पनि फेला परेको छ ।” 

डिएसपी तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पाेजल टोली पनि घटनास्थलमा पुगिसकेको छ, बाँकी अनुसन्धानपछि खुल्नेछ  । उक्त स्थानमा अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।