• २० असोज २०८१, आइतबार

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याई

blog

इनरुवा (सुनसरी),  भदौ ३१ गते ।  विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्या भएको छ ।

कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्या हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विशेष उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो । विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले हजाराैं मूर्ति निर्माण गर्ने गरेको इनरुवा–८ का मूर्तिकार रामलखन मण्डलले बताउनुभयो । यहाँ रु. दुई हजारदेखि पाँच हजारसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज मेहताले बताउनुभयो । 

इनरुवा–८ का रामलखन मण्डलले एक्लै ५० वटा विश्वकर्माको मूर्ति निर्माण गर्नुभएको र  तयार भएका मूर्तिमध्ये अधिकांश  बिक्री भइसकेका छन् । सुनसरीमा १० हजारको सङ्ख्यामा विश्वकर्माको मूर्ति खरिदबिक्री हुने गरेको छ । मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताए । 

यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु. दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । यसरी मूर्तिकारले कामलाई संरक्षण गर्नसके मूर्तिको उचित मूल्य पाउन सकिने भएकाले  सरकारले मूर्तिकारलाई समयसमयमा तालिम प्रदान गरी प्रोत्साहन गर्न जरुरी रहेको सरोकारवालाले बताए । रासस