• १२ साउन २०८१, शनिबार

कृषि, पर्यटन र सहकारीबाट समृद्ध मालारानी बनाउँछौँ

blog

अर्घाखाँचीको मालारानी गाउँपालिका पर्यटकीय स्थल भएको सुन्दर स्थान हो। यहाँ कृषिको राम्रो सम्भावना रहेको छ। गाउँपालिकाले कृषिमा पनि पशुपालनलाई प्राथमिकता दिएर अगाडि बढाएको छ। जसबाट स्थानीयले राम्रो आम्दानी गर्न सफल भएका छन्। स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामपछि गठन भएको मालारानी गाउँ सभाको अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । यस गाउँपालिकामा भएका विकासका गतिविधिबारे पालिका अध्यक्ष दलबहादुर भट्टराईसँग गोरखापत्रकर्मी गणेश खनालले गरेको कुराकानी : 


स्थानीय तहको दोस्रो निर्वाचनबाट विजयी भएको एक वर्षमा के के काम गर्नुभयो ? 

हाम्रो एकवर्षे कार्यकालभित्र राज्यको आर्थिक अवस्था कमजोर र बजेट कटौती हुँदाको अवस्थामा पनि सीमित स्रोतसाधनलाई उचित र अधिकतम परिचालन गरी गाउँपालिकाबाट विकास निर्माण र सामाजिक सुरक्षाका काम गरिएको छ। ‘कृषि पर्यटन र सहकारी, समृद्ध मालारानी’ भन्ने दीर्घकालीन सोचलाई सफल पार्न ‘हेफर प्रोजेक्ट नेपाल’ सँगको साझेदारीमा ‘मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना’ सञ्चालन गरिएको छ । यस अन्तर्गत ६८ वटा समूहमा एक हजार सात सय जना महिला तथा युवा उद्यमी संलग्न भएका छन्। एक सय जना युवालाई आबद्ध गरी परियोजनामार्फत मुख्यतः कृषि तथा पशुपालनको क्षेत्रका कामहरू खोर निर्माण, भकारो सुधार, बाख्राबोका वितरण गरिएको छ। डाले तथा भुइँघाँस वितरण, भैँसी, पाडी तथा राँगा वितरण एवं हाते ट्याक्टर, कुटानी पिसानी मिल, कर्न सेलर, तौल मेसिनजस्ता विभिन्न प्रविधि हस्तान्तरण गर्ने काम भएको छ । युवा उद्यमीलाई ३५ हजार रुपियाँका दरले व्यवसाय सञ्चालनबापत रकम उपलब्ध गराइएको छ । किसानलाई अनुदान उपलब्ध गराइएको छ । व्यावसायिक सिताके च्याउ पकेट कार्यव्रmम सञ्चालन गरिएको छ । ७० वटा घरपरिवारमा व्यावसायिक कागती खेतीको लागि न्यूनतम ५० बोट लगाउने कार्य सम्पन्न भएको छ। किसानको उत्पादनलाई भण्डारण र बजारीकरण गर्न वडा नं. ५ मा निर्मित एक सय मेट्रिक टन क्षमताको कोल्ड स्टोरमा हेफर प्रोजेक्टसँग साझेदारी गरी करिब ८४ लाख रुपियाँको लगानीमा कुलिङ सिस्टम जडान सम्पन्न भएको छ। 

स्वास्थ्य, खानेपानी र सरसफाइका क्षेत्रमा पनि काम भएको छ ? 

पद बहालीको दिनमा घोषणा मधुमेह, उच्च रक्तचाप र छारे दीर्घरोगका बिरामीलाई निःशुल्क औषधी वितरणको सुरु गरिएको छ। यस कार्यक्रम अन्तर्गत करिब एक हजार चार सय जना दीर्घरोगीले लाभ लिइरहेका छन्। 

बाँगी र हंसपुर स्वास्थ्य चौकीबाट ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ। बर्थिङ सेन्टरमा २४ घण्टासम्म सुत्केरी आमा राखी सेवा प्रदान गर्नका लागि सबै आवश्यक व्यवस्था मिलाइएको छ। मरेङ स्वास्थ्य चौकीमा ल्याब सञ्चालनका लागि सामग्री व्यवस्थापन भई तत्काल ल्याब सेवा र सुरक्षित गर्भपतन सेवा सञ्चालनमा ल्याउने तयारी भएको छ। 

विद्युतीय लिफ्ट खानेपानीमा लाग्ने शुल्कमा आर्थिक वर्ष २०७९/८० देखि ८० प्रतिशत रकम पालिकाबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ। विभिन्न परियोजनामार्फत स्वास्थ्य संस्था, विद्यालय तथा समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि आवश्यक सुधार गर्ने काम भइरहेको छ। महरबिसौना–१ मा गाउँघर क्लिनिकको शौचालय निर्माण सम्पन्न भएको छ। 

‘हाम्रो मालारानी’ नामक स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिएको छ। चालू शैक्षिक सत्रदेखि सिद्धार्थ माध्यमिक विद्यालय, रतनमारेमा कक्षा ९ देखि बाली विज्ञान विषयको अध्यापन सुरु गरिएको छ। 

मालारानीमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटक ल्याउन पहल गरिरहनुभएको छ ? 

जिल्लाको महत्वपूर्ण आन्तरिक पर्यटकीय गन्तव्य स्थलका रूपमा स्थापित भएको सुपादेउरालीमा बाह्रै महिना आन्तरिक पर्यटक आउने गरेका छन्। उक्त मन्दिर क्षेत्रमा आउने पर्यटकलाई मालारानीमा ल्याउन यहाँका महत्वपूर्ण क्षेत्रको प्रचारप्रसार गर्न जरुरी हुन्छ। मालारानीमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले महत्वपूर्ण रहेका क्षेत्र नरसिंहस्थान, मालारानी मन्दिर, मनचिन्तेपानी, विष्णुगद्धि रहेको गुफा क्षेत्र र तिल्कुवा झरनामा पर्यटकीय पूर्वाधारका काम भइसकेका छन्। अन्य क्षेत्रमा खनको जालकाँडा, वडा नं. ३ स्थित दारेघोडा, लोहोरीको लेक, शिवालय मन्दिर, हंसपुर कोट, राँगामारे भगवती मन्दिर, नेचुरल भ्युटावर गोखुङ्गा आदि यहाँका पर्यटकीय स्थल हुन्। गाउँपालिकाले कृषि, पर्यटन र सहकारीबाट नै समृद्ध मालारानी बनाउन सकिन्छ भन्ने दीर्घकालीन सोचका साथ प्रथम आवधिक योजना निर्माण गरेको छ । 

कृषि तथा पशुपालनमा प्राथमिकता दिँदै आउनुभएको छ, परिणाम कस्तो छ ? 

मालारानी गाउँपालिकामा मुख्य सम्भावना भएको आर्थिक क्षेत्र नै कृषि पशुपालन हो। गाउँपालिकाको प्रथम कार्यकालमा कृषि र पशुपालनलाई नै प्राथमिकतामा राखी काम गरेको देखिन्छ । कृषि प्रविधि हस्तान्तरण, मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन, कृषि तथा पशुपालन उद्यम व्यवसायका लागि सहुलियत ब्याजदरमा ऋण परिचालन र ब्याजमा अनुदानलाई लिन सकिन्छ। हामी जनप्रतिनिधिका रूपमा बहाल भइसकेपछि पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँदै थप व्यावसायिक कागती खेती, कृषि तथा पशुपालन व्यवसायलाई मागमा आधारित अनुदान, कोल्ड स्टोर भवनमा आन्तरिक कुलिङ सिस्टम जडान आदि कार्यक्रम सञ्चालन गरेका छौँ। गाउँपालिकाले लगानी गरेको बाख्रापालन कार्यक्रमबाट कृषक आत्मनिर्भर हुँदै जाने क्रम बढ्दो छ । गाउँपालिका क्षेत्रबाट दिनहुँ ४०–५० खसीबोका जिल्लाभित्रका बजार, छिमेकी जिल्लाका सदरमुकाम र बुटवलसम्म निकासी भइरहेको अवस्था छ । तीन सयभन्दा बढी कृषि तथा पशुपालनका व्यवसाय गाउँपालिकामा दर्ता गरी सञ्चालन भएका छन् । गाउँपालिकाभित्र उत्पादन हुने व्यावसायिक तरकारी तथा फलफूल खेतीको बजारीकरणको समस्या समाधान केही हदसम्म कोल्ड स्टोरबाट हुने छ । यसबाट तरकारी खेतीका व्यवसायी थप आकर्षित हुने अपेक्षा गरिएको छ। उद्यमशीलता विकास तालिम, मागमा आधारित अनुदान र व्यावसायिक कागती खेती कार्यक्रमले युवा पलायन हुनबाट केही हदसम्म रोक्न सकिन्छ कि भन्ने अपेक्षा छ।