• १ जेठ २०८२, बिहिबार

बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण हुने

blog

बाबुराम शर्मा

दोलखा, भदौ ३१ गते । दोलखाको भीमेश्वर नगरपालिका–६ मा १२ आदिवासी जातिको संस्कार र संस्कृति झल्कने बहुसांस्कृतिक सङ्ग्रहालय र पार्क निर्माण गरिने भएको छ। दोलखा नै उद्गम थलो भएका थामी, जिरेल, सुरेल र तामाङ, शेर्पा, श्रेष्ठ, सुनुवार, गुरुङ, माझी, भुजेल, मगर र कुमाल गरी कुल १२ आदिवासी जनजातिको बसोबास रहेको छ। उनीहरूको जन्मदेखि मृत्युसम्मका संस्कार, वेशभूषा जोगाउन यो सङ्ग्र्रहालय निर्माण हुन लागेको हो। 

यहाँ आदिवासी जनजातिका पुरातात्त्विक महत्व झल्कने किसिमका १२ वटै भवन निर्माण हुने र ती भवनमा सम्बन्धित जातजातिसँग सम्बन्धित साङ्केतिक वस्तु राखिने छ। ती जनजातिबारे धेरै बुझ्न चाहनेलाई सम्बन्धित ठाउँमा लगेर अवलोकन गराइने दोलखाको भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो। यी भवनलाई सङ्ग्रहालयका रूपमा परिणत गरिने छ। सोही स्थानमा करिब चार सय जना अट्ने कार्यक्रम हल र पार्किङ पनि निर्माण गरिने छ। ४२ रोपनी जग्गामा निर्माण हुने यो सङ्ग्रहालयको लगानी करिब १२ करोड रुपियाँ रहेको उहाँले जानकारी दिनुभयो।

यो सङ्ग्रहालय निर्माणका लागि वडाको पाँच लाख रुपियाँको लागतमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको हो। परियोजनाको प्रतिवेदन तयार भएसँगै यसलाई भीमेश्वर नगरपालिकामा पेस गरिएको छ। वडाध्यक्ष लामाले भन्नुभयो, “लगानीका लागि नगरपालिका, प्रदेश, सङ्घ तथा विभिन्न जातजातिसँग पनि आग्रह गर्न लागिएको छ।” जनजाति समुदायका प्रतिनिधिले जनजाति सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि गर्नुपर्ने सहयोगका लागि आपूmहरू तत्पर रहेको बताउँदै यस जिल्लाकै सांस्कृतिक, पर्यटकीय हरेक हिसाबले यो सांस्कृतिक सङ्ग्रहालय महत्वपूर्ण हुने हुँदा छिटोभन्दा छिटो निर्माण कार्य अगाडि बढाउन माग राखेका छन्। 

पद्मसम्भवको मूर्ति निर्माण 

भीमेश्वर नगरपालिका–६ मा निर्माण सुरु भएको बहुसांस्कृतिक सङ्ग्रहालय तथा पार्कमा पद्मसम्भव (लामा भाषामा घुरु रेम्बोचे) को मूर्ति निर्माण भएको छ। सङ्ग्रहालय तथा पार्कसमेतको विस्तृत परियोजना प्रतिवेदन तयार भएकाले पहिलो चरणमा पद्मसम्भव (लामा भाषामा घुरु रेम्बोचे) को मूर्ति निर्माण भएको वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो। 

उहाँका अनुसार बागमती प्रदेश सरकार, नगरपालिका र सहरी शासकीय क्षमता विकास कार्यक्रमको १५–१५ लाख र आर्थिक सङ्कलनबाट पाँच लाख गरी ५० लाख रुपियाँमा पोखरी र मूर्ति निर्माण भएको हो। तीन लाख १५ हजार लिटर पानी अट्ने गोलाकार पोखरीमा १४ फिटे पिल्लरमा १६ फिट अग्लो मूर्ति निर्माण भएको छ। पिल्लरको चारैतिर कमलको फूल बनाइएको छ। मूर्तिको पछिल्लो भागमा विभिन्न मन्त्र राखिने छ। यसका लागि मात्र साढे १८ लाख रुपियाँ लाग्ने भएकाले नपुग रकम जुटाइएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो। बागमती प्रदेश सरकारको ३५ लाख र वडा कार्यालयको १८ लाख रुपियाँमा पोखरी नजिकै टासी तामाङ गुम्बा भवन पनि निर्माण सुरु भएको छ। साढे दुई तले यो भवनलाई गुम्बा बनाउने र आवासको पनि व्यवस्था हुनेछ। भवनको भुइँ तला यस वर्ष ढलान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।