• १ जेठ २०८२, बिहिबार

‘निर्माणाधीन संसद भवन समयमै सम्पन्न गर्ने कुरालाई ठेकेदारले हल्कामा लिए’

blog

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ १ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयमा ठेकेदारले हल्का रूपले लिएको बताउनुभएको छ ।

निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समयमा नसकिने म्याद थप भइहाल्छ नि भन्दै ठेकेदारले हल्का रूपमा लिएको बताउनुभयो । उहाँले पटक–पटक म्याद थप गर्दा पनि अहिलेसम्म ८६ प्रतिशत भौतिक प्रगति भएको बताउँदै त्यसलाई शत प्रतिशतमा लैजान आफूहरू गम्भीर रहेको औंल्याउनुभयो ।

मन्त्री सिंहले कामलाई तीव्रता दिई ठेकेदारलाई जिम्मेवारी बोध बनाउन जरिवाना तिराउने वा नयाँ टुल्स गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले पछिल्लो पटक थपिएको म्याद नै अन्तिम म्याद हुनेगरी आफूहरू गम्भीर रहेको जिकिर गर्नुभयो ।

“सुरु भयो, ठेक्कामा गयो । पटक पटक म्याद थप गरियो । ८६ प्रतिशत फिजिकल प्रगति भयो भनेर आएको छ । ८६ लाई १०० मा पुर्‍याउन हामीले अहिले कानुनले दिएका प्रावधानहरू के के छन् ? कामलाई तीव्रता दिन के के टुल्सहरू प्रयोग गर्न सकिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘जरिवाना नै तिराउने हो कि, कन्ट्रयाक्टरले हल्का रूपमा लिइरहेका छन्, म्याद थप भई हाल्छ नि के गर्छन् र यिनीहरूले भन्ने खालको । कन्ट्रयाक्टरलाई अलि जिम्मेवार बनाउन गर्नुपर्ने कामहरूमा के गर्दा खेरी हुन्छ भन्ने कुरामा समितिबाट सुझाव लिन्छौँ । यसलाई पूरा गर्नको लागि अब अन्तिम म्याद जस्तो गरेर जान हामी सहमति छौँ ।”  

उहाँले ठेकेदार जिम्मेवारी नभए कानुनी प्रावधानअनुसार अगाडि बढ्ने कुरामा हिचकिचाहट नगर्ने चेतावनी दिनुभयो ।