धनुषा समाचारदाता
धनुषा, भदौ ३१ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संसद्मा सङ्घीय शिक्षा विधेयक दर्ता हुँदैमा चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको कारण शिक्षा क्षेत्रका विभिन्न पक्षबाट असन्तुष्टि बढेको देखिन्छ तर विधेयक अहिले संसद्मा दर्ता भएको छ । छलफलको समयमा संसद्मा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउन सक्छन् । विधेयक छलफलका लागि विषयगत समितिमा जान सक्छ । समितिले विज्ञहरूसँग छलफल गर्छ । अहिले धेरै प्रक्रिया बाँकी छ ।”
विधेयकमा सुधार गर्नुपर्ने विषयवस्तुलाई सांसदमार्फत सुझाव पठाउन सकिने भएकाले विभिन्न पक्षबाट भइराखेको आन्दोलनको अहिले आवश्यकता नभएको उहाँले बताउनुभयो । वर्तमान शिक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको भन्दै उहाँले शिक्षा प्रणालीमा सुधारका लागि परिवर्तनको पक्षपाती हुनुपर्ने धारणा राख्नुभयो । वर्तमान अवस्थामा आयातित शिक्षालाई प्रश्रय दिने काम भइरहेको भन्दै सभामुख मण्डलले सङ्घीयतापश्चात् आफ्नो गाउँठाउँका विषयवस्तुलाई समावेश गरी पाठ्यक्रम विकास गर्नुपर्ने बताउनुभयो ।
मैत्रीपूर्ण ढङ्गले शिक्षा प्रवाह नभइदिएका कारण विद्यार्थीले शिक्षकसँग खुला रूपमा छलफल गर्न डराउने गरेकाले यसमा सुधारको आवश्यकता भएको उहाँले बताउनुभयो । अझै पनि ९९ प्रतिशत शिक्षक बिनातयारी पढाउने गरेको भन्दै सभामुख मण्डलले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरू पनि अध्ययनशील हुन आवश्यक रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले गुणस्तरीय शिक्षाका लागि सबैको प्रयास सकारात्मक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका सहअध्यक्ष सुभाष न्यौपानेले सरकारले संसद्मा दर्ता गराएको शिक्षा ऐनमा धेरै त्रुटि रहेको बताउँदै सुधारका लागि पहल गरिरहेको बताउनुभयो । एसोसिएसनका धनुषा अध्यक्ष अवधेश तिवारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय सदस्य चन्द्रनारायण मण्डल, प्रदेश अध्यक्ष डा. नन्दन यादवलगायतले बोल्नुभएको थियो । अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिने उपाध्यक्ष आशिष झाले जानकारी दिनुभयो ।