तिजका अवसरमा दिदीबहिनीले गीतका माध्यमबाट दुःख–सुख पोख्छन्। नाचगान गरेर रमाइलो गर्छन् तर हिजोआज तिजमा गरिने नाचगानले विकृति बढायो, यो पर्वको मौलिकता नै सङ्कटमा पर्यो भन्ने जस्ता धारणा सुनिन्छ।
तिज गीतका नाममा रत्यौलीमा गाइने गीत गाउनु, नाचका नाममा अङ्ग प्रदर्शन गर्नु र लोकप्रिय बन्ने नाममा उरान्ठेउला गीतहरू हाबी हुँदा भावी पुस्ताले तिजको मौलिकता नै बिर्सने सम्भावनासमेत बढेको विचार पनि यत्रतत्र सुनिन्छ तर तिजमा जति नै नयाँ गीत सार्वजनिक भए पनि पुराना कलाकारका कालजयी गीत अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन्।
तिजका मौलिक भाकामा लय मिलाएर प्रस्तुत गर्ने पुराना कलाकार लोकगीत, सङ्गीतबाट टाढा भइदिँदा र नयाँ पुस्ताका कलाकारले मौलिकता बिर्सिदिँदा विकृति बढेको कलाकारको भनाइ छ। मौलिकताविहीन सिर्जनालाई दर्शक, श्रोताले रुचाइदिँदा सर्जक पनि त्यस्तै सिर्जनामा उत्प्रेरित हुन पुग्ने पनि उहाँहरूको धारणा छ।
तिज गायिकाका रूपमा परिचय बनाउनुभएका हरिदेवी कोइराला, विमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सिन्धु मल्ल, शकुन्तला थापा, शिला आले, विष्णु माझीलगायतका धेरै गायिकाले तिजका गीतमा मौलिकता पस्कने गर्नुभएको छ। पुराना तिज गीत र अहिलेका तिज गीतलाई नजिकबाट नियाल्नुभएका गायिकाहरू कोइराला, न्यौपाने, गुरुङ र आले तिजको मौलिकता हराउन दिन नहुने तर्क राख्नुहुन्छ।
कोइरालाले आफ्ना तिज गीतमा चेली माइती जान नपाउँदाका पीडा, सासुससुराले गर्ने अभद्र तथा भद्र व्यवहार, दिदीबहिनीको मित्रता, श्रीमान्को माया तथा अपहेलनालगायतका विषयवस्तुलाई आफ्ना गीतमा पस्कने गर्नु हुन्छ। कोइरालाका तिज गीतमध्ये ‘सुन्नुहोला दिदीबहिनी’, ‘सुनको टिकी लाएर’, ‘पठाएनन् घरकाले’, ‘रातो सारी लाएर’, ‘आमा तिम्रो दुधैको भारा’, ‘यो छोरीको जीवन बरिलै’ लगायतका गीतहरू अहिलेका तिजमा पनि उत्तिकै गुञ्जिरहन्छन्।
तिजमा बढेको विकृतिप्रति गायिका हरिदेवी कोइराला दिक्क मान्नु हुन्छ। उहाँका अनुसार पहिलेको तुलनामा अहिलेका तिजमा झन–झन् विकृति बढ्दै गएको छ। भड्किलो बन्दै गइरहेको छ। पहिले तिज भन्नेबित्तिकै दुःखसुखका, आफूले पाएका वेदनाहरू पोखेर परिवारमा बसेर मनाइन्थ्यो। अहिलेको तिजमा खाली पार्टी प्यालेसमा महिनौँदेखि दर खाएर त्यस्तै किसिमका भड्किला गीतहरू गाएर मनाउन थालिएको छ।
विषयवस्तुमा फरकपन आए पनि मौलिकता, संस्कृति र वेशभूषालाई बिर्सन नहुने उहाँको भनाइ छ। उहाँ थप्नुहुन्छ, “तिज सामाजिक र धार्मिक चाड हो, त्यसैले यसको आफ्नै महत्व छ। तिजमा गाइने गीत पनि माइतीघरको आँगनमा छमछमी नाच्ने खालको हुनु पर्छ। समय, परिस्थिति फेरिए पनि समाजमा धार्मिक पाटोको छुट्टै आयाम छ।” नयाँ पुस्तालाई आफ्ना पुराना तिज गीतबारे जानकारी दिनकै लागि कोइरालाले हालसालै आफ्ना २४ वटा गीतको म्युजिक भिडियो निर्माणसमेत गरिरहनुभएको छ।
तिजमा मौलिकता पस्कँदै आउनुभएकी लोकगायिका लक्ष्मी न्यौपानेलाई पनि पछिल्लो समय तिजमा आएको परिवर्तन त्यति नौलो लाग्दैन तर परिवर्तनका नाममा विकृति मौलाउनु चाहिँ संस्कृति मेटिनु हो। उहाँका अनुसार पहिलेको तिज कृष्ण जन्माष्टमीको अघिल्लो दिनबाट सुरु हुन्थ्यो।
गाउँले परिवेश अनुसार एक दिन एउटा घरमा, अर्को दिन अर्को घरम दर खाने प्रचलन हुन्थ्यो। तिज आयो भनेपछि आमा, दिदी, बहिनी बसेर गीत जुराउने गरिन्थ्यो। यसरी गीत जुराउँदा समाजका घटना, विषयवस्तु र राजनीतिलाई प्राथमिकतामा राखेर गीत सिर्जना गरिन्थ्यो।
तिजका गीतमा परिवर्तन हुँदै जानु राम्रो भए पनि विकृति नफैलाउनका लागि सबै समूह र सर्जक नै सचेत हुनुपर्ने न्यौपानेको भनाइ छ। तिजमा व्रत बस्ने कुरामा पनि कसैले जबरजस्ती र देखासिकी नगरी आफ्नो स्वास्थ्यलाई ख्याल गरेर बस्नुपर्ने उहाँको सुझाव छ।
दर्शक, श्रोता, सञ्चारमाध्यम, सर्जकले पनि विकृति फैलाउने खालका गीतमा अङ्कुश लगाउने र प्रोत्साहन नगर्ने हो भने केही हदसम्म गीत/सङ्गीतको विकृति हट्ने उहाँको ठहर छ। तिजका पुराना गीत कस्तो हुन्थ्यो ? तिजको मौलिकता के हो भन्ने कुरा नयाँ पुस्ताले बिर्सनु चाहिँ दुःखद हो। न्यौपानेका ‘तिज आयो राजै’, ‘म त मसक्कै’, ‘जान्नँ म त नाइँ’ लगायतका तिजको वास्तविक कथा बोल्ने गीतहरू अहिले पनि चर्चाको शिखरमा छन्।
तिज गीत/सङ्गीतकी अर्की स्रष्टा शिला आलेले आफ्नो पुस्ता र अहिलेको पुस्ताको तिजमा त्यस्तो फरक देख्नुहुन्न तर तिजमा दर खाने परम्परामा भने विकृति बढिरहेको उहाँको पनि बुझाइ छ। “दर खाने भन्ने शब्दलाई रमाइलो गर्ने भनेर बुझिदिँदा दर खाने शब्दकै अपमान भएको छ,” उहाँ भन्नुहुन्छ।
यस्तै गीत/सङ्गीतमा पनि रमाइलोको नाममा केही फरक हुन थालेको आलेको भनाइ छ। पहिलेका तिज गीत घटनामा आधारित धेरै हुने गरेको भए पनि आजभोलि रमाइलो गर्ने नाममा गाउँदा अलि फरक लागेको हो तर रमाइलो गर्ने नाममा विकृतिलाई प्रश्रय दिनु चाहिँ राम्रो नहुने उहाँ बताउनुहुन्छ। नेपालका फरक–फरक ठाउँमा फरक फरक संस्कार र भाषा भएकाले पनि कतिपय गीत/सङ्गीतमा विकृति जस्तो देखिन सक्छ। त्यसलाई नै विकृति भनिहाल्न पनि नहुने उहाँको तर्क छ। तिजका गीतहरू तिजको केही समयअघि मात्र गाउने गर्दा विकृति कम हुँदै जाने उहाँको सुझाव छ।
तिजका गीतमा एकदमै मर्मस्पर्शी गीतको सङ्कलन गर्ने अर्की गायिका शर्मिला गुरुङ हुनुहुन्छ। उहाँले विगतमा गाउनुभएका ‘तिज दाइबिना’, ‘टाढाका चेली’, ‘हामफालेर मरुँ कि’ र ‘आज मेरो माइत जाने पालो’ लगायतका गीत अहिलेसम्म पनि उत्तिकै लोकप्रिय छन्। आफैँ सिर्जनाबाहेक अन्य सर्जकका गीतहरूमा समेत स्वर दिनुभएकी गुरुङको रोजाइमा मौलिकता झल्कने गीत मात्र पर्छन्।
गुरुङले सानो छँदा मनाएको तिज र अहिलेको तिजमा धेरै भिन्नता पाउनुभएको छ। सानो छँदा सुनेका गीत र अहिलेका गीत कतै पनि नमिलेको उहाँ बताउनुहुन्छ। पहिले तिज गीत भनेपछि घर, माइतीको र दिदीबहिनीको कथाव्यथा समेटेर बनाउने र त्यही परिस्थितिबाट आफूले पनि सिकेको तर अहिलेका प्रायः गीतमा त्यस किसिमको मौलिकता भेटिन छाडेको उहाँको गुनासो छ। “पहिलाका र अहिलेका गीतमा तुलना नै गर्ने हो भने त कतिपय गीतलाई तिज गीत नै भन्न मिल्दैन्,” उहाँले दाबी गर्नु भयो।
परिवर्तनका नाममा मौलिक चाड र मौलिक गीत/सङ्गीतलाई भावी पुस्ताले बिर्सने हो कि भन्ने डरसमेत उहाँलाई लागेको छ। गुरुङ थप्नुहुन्छ, “भावी पुस्ताले तिजलाई पुरुषले साडी लगाएर नाच्ने चाड रै’छ भनेर भन्ने पो हो कि पीर लाग्छ।” जसले तिज गीतमा विकृति भित्र्याउनुभएको छ, उहाँहरूले यो काम नगर्ने हो भने विकृतिमा केही हदसम्म कमी आउने गुरुङको विश्वास छ।