• १२ साउन २०८१, शनिबार

उत्कृष्ट पर्यटकीय स्थलका रूपमा विकास गर्ने छु

blog

विदुर नगरपालिका काठमाडौँ उपत्यकाको उत्तरपश्चिम ६९ किमि दुरीमा अवस्थित छ। १३ वडामा विभाजित यो नगरपालिका १३०.०१ वर्ग किलोमिटरमा फैलिएको छ। ‘शिक्षा, संस्कृति, कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान’ मूल मन्त्र बनाएको यो नगरपालिका नुवाकोट जिल्लाको सदरमुकाम र चीन/तिब्बतसँगको व्यापारको मुख्य मार्ग पनि हो। यो नगरपालिकाको प्रमुखमा स्थानीय तहको दोस्रो निर्वाचनबाट राजन श्रेष्ठ निर्वाचित हुनुभएको छ। नगर प्रमुख श्रेष्ठसँग नगरपालिकाका विकास गतिविधि, सम्भावना र चुनौतीबारे गोरखापत्रका नवराज सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ : 

 विदुर नगरपालिकाको प्रमुखमा तपाईं निर्वाचित हुनुभएको एक वर्षभन्दा बढी समय बितिसकेको छ। यो अवधिमा नगरपालिकाको विकास र समृद्धिका लागि कस्ता नीति र योजना बनाउनुभएको छ ? 

हामी आइसकेपछि दुई वटा बजेट र नीति तथा कार्यक्रम ल्याइसक्यौँ। पहिलो आर्थिक वर्षका कार्यक्रम कार्यान्वयन गरेर अहिले दोस्रो आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनमा छन्। हामीले विदुर नगरपालिकाका जनताको आवश्यकता, माग र सम्भावनाका आधारमा कार्यक्रम बनाएका छौँ। शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्धन हाम्रो पहिलो प्राथमिकता हो। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई यहीँको विकासमा लगाउने, शिक्षा, बालबालिका र कृषि क्षेत्रमा सुधार गर्ने काम गर्दै आएका छौँ। प्रत्येक वडाको आवश्यकताको आधारमा त्यसलाई बुझेर विकास गर्न हामी लागिरहेका छौँ। विदुरमा धार्मिक र प्राकृतिक गरी धेरै पर्यटन सम्भावना छ। ती सबै सम्भावनाको खोजी, पहिचान र प्रवर्धन गरी विदुर नगरपालिकालाई पर्यटनको हब बनाउँछु। सडक, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वच्छ वातावरण र यहाँको समृद्धिका लागि स्थानीयसँग निरन्तर साक्षात्कार र बहस गरी त्यसबाट आएको निष्कर्षलाई कार्यान्वयन गर्ने नीति हामीले लिएका छौँ। 


 चालु आर्थिक वर्षका लागि के कस्ता कार्यक्रम ल्याउनुभएको छ ?

चालु आर्थिक वर्ष यस नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ। विदुरका जनताको गुनासो सम्बोधन र जनतासँग सिधै पहुँच पु¥याउन हेल्लो मेयर कार्यक्रम ल्याएका छौँ। नगरपालिकाको १३ वटै वडामा पुग्ने गरी ५० किलोमिटर सडक कालोपत्रे बनाउने योजना ल्याएका छौँ। कृषि तथा पशुपन्छी प्रवर्धन कार्यक्रम अगाडि बढाएका छौँ। सबै वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी रूपमा अगाडि बढाउने योजना छ। सबै कार्यालयमा डिजिटल हाजिरी, सिसिटिभी क्यामरा जडान, पशु सुत्केरी भत्ता, उत्पादनका आधारमा अनुदान, लिफ्टिङ सिँचाइ, खानेपानी जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ।


 स्वास्थ्य र शिक्षालगायतका सामाजिक क्षेत्रलाई कसरी व्यवस्थित बनाउने सोच छ ?

स्वास्थ्य, शिक्षा जनताका आधारभूत आवश्यकता तथा नैसर्गिक अधिकार भएकाले हामीले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गरेका छौँ। नगरपालिकाका १३ वटै वडामा स्वास्थ्य चौकीको व्यवस्था गर्ने योजना छ। वडामा नर्स र प्रयोगशाला राख्दै छौँ। वडामा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्ने छौँ। पार्क उद्यानमा शारीरिक व्यायाम, प्रत्येक वडामा योगशाला, बिहान बेलुकी हिँड्न, कुद्न सकिने अवस्था भयो भने निश्चय नै त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। यससँगै नुवाकोट जिल्लाकै एक मात्र सरकारी अस्पताल पनि यही विदुर नगरपालिकामा छ। यसको सेवामा थप विस्तार गर्ने योजना छ। नगरभित्र बसोबास गर्ने ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको प्रत्येक चार÷चार महिनामा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने योजना छ। विद्यालयमा प्रभावकारी ढङ्गले सिक्ने र सिकाउने वातावरण बनाउन आवश्यक बजेट छुट्याएका छौँ र प्रभावकारी अनुगमन पनि गर्छौं। पहिलो कुरा शैक्षिक पूर्वाधार विकास गर्ने प्रमुख लक्ष्य नै छ। नगरपालिकाभित्रका विद्यालयमा कक्षाकोठा र शौचालय अपाङ्गमैत्री बनाउन सकिन्छ, छात्राका लागि आवश्यक सेनेटरी प्याडलगायतको व्यवस्था गर्न सकिन्छ। त्यसका लागि नगरका सम्पूर्ण सामुदायिक विद्यालयलाई हामीले निर्देशन गर्छौँ।

 फोहोरमैला व्यवस्थापनको सम्बन्धमा काम नै भएन भन्ने गुनासो छ नि ?

फोहोरमैलाको दिगो समाधानका लागि नयाँ, आधुनिक र नमुना काम गर्न खोजेको छौँ। नगरपालिकाका सम्पूर्ण स्थानमा नियमित रूपमा फोहोर कसरी उठाउन सकिन्छ भन्ने सन्दर्भमा हामीले छलफल र बहस गरिरहेका छाैँ। सेग्रिगेसन हाउसका लागि पनि बजेट विनियोजन गरिसकेका छौँ। अब फोहोरको दिगो समाधानका लागि विशेष पहल गर्ने छाैँ। घरबाट दैनिक फोहोर उठाउन सवारीसाधन थप गर्ने योजना छ। सार्वजानिक स्थलमा डस्टबिन राखिसकेका छौँ।


 तपाईं व्यापार व्यवसायमा सफलता पाइसक्नुभएको व्यक्ति हुनुहुन्छ। विदुर नगरपालिका व्यापार मार्गमा पनि छ। यस क्षेत्रको उद्योग व्यापार क्षेत्रका लागि कस्तो योजना बनाउनुभएको छ ?

म व्यापार व्यवसाय गरेर नगरपालिकाको प्रमुखको जिम्मेवारी बहन गर्न आएको व्यक्ति हुँ। त्यसैले मलाई उद्योग, व्यापार र व्यवसाय गरिरहेका व्यक्तिको समस्याबारे मलाई जानकारी छ। नगरपालिकाले व्यवसायीलाई दिनुपर्ने सेवा सुविधा उपलब्ध गराउँछु। कतिपय व्यवसायीले सरकारलाई कर नतिरी व्यापार र उद्योग सञ्चालन गरिरहेका छन्। उनीहरू सबैलाई करको दायरामा ल्याउँछु। नगरपालिकाभित्र उद्योग, व्यापार, व्यवसाय गर्न सहज वातावरण तयार गर्ने सोच छ। विदुर नगरपालिकालाई उत्कृष्ट पर्यटकीय स्थलका रूपमा विकास गर्ने छु। पर्यटनको सम्भावनालाई खोजी गरेर यस नगरपालिकालाई नै उत्कृष्ट पर्यटन क्षेत्रका रूपमा विकास गर्न मेरो प्रयास रहने छ।