गोविन्द शर्मा
नेपालगञ्ज, भदौ २९ गते । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको करिब एक महिनापछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार सपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गरिएको छ । भदौ २ गते सङ्घको निर्वाचन अन्तर्गत मतदान भएकोमा भदौ ४ गते मत गणना सम्पन्न भएको हो ।
महासचिवका उम्मेदवारको विजयी घोषणामा असन्तुष्ट भई उच्च अदालत नेपालगञ्ज ईजलाशमा मुद्दा दर्ता भएपछि लामो समयसम्म सपथग्रहण रोकिएको हो । अदालतले महासचिव पदमा विजयी उम्मेदवारलाई सपथग्रहणमा रोक लगाएपछि शुक्रबार महासचिव बाहेक अध्यक्ष टङ्कप्रसाद धामीसहितका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको हो ।
विवादका बीच आयोजित सपथ ग्रहणमा अध्यक्ष धामीले निर्वाचनको परिणाम आइसकेपछि सङ्घमा सबै पक्षलाई मिलाएर उद्योगी व्यवसायीको हकहितमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष धामीले भन्नुभयो, ‘सबै पक्षको सहमतिका आधारमा सङ्घ अघि बढ्नेछ, निर्वाचनको समयका प्यानल अब समाप्त भएका छन्, दुवै समूहको घोषणापत्रअनुसार अघि बढिनेछ ।’
महासङ्घका निवर्तमान अध्यक्ष अव्दुलवाहिद मन्सुरीले सबै पक्षलाई मिलाएर लैजान र सदस्यसम्मलाई उचित जिम्मेवारी दिएर नेतृत्वका विकास गर्न सुझाव दिनुभयो ।
पुर्व अध्यक्ष सुनीलकुमार शर्माले २०२४ सालमा स्थापित सङ्घको विवाद पहिलो पटक अदालत पुगेको भन्दै निर्वाचन आयुक्तको कमजोरी रहेको दाबी गर्नुभयो । उहाँले अदालतलाई प्रभावित पार्न हतारमा सपथ ग्रहण गराइएको बताउनुभयो ।
सङ्घको निर्वाचनमा टङ्क धामी नेतृत्वको समावेशी प्यानल र ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलबीच प्रतिस्पर्धा भएको थियो । अध्यक्षमा धामी
उपाध्यक्ष (उद्योग) मा चिरञ्जीवी ओली, उपाध्यक्ष (वाणिज्य) मा हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला) मन्दिरा पाण्डे, उपमहासचिवमा टेकबहादुर खड्का, कोषाध्यक्षमा मख्खन धामी विजयी हुनुभएको छ ।
सङ्घको १० सदस्यमा विष्णु श्रेष्ठ, डम्बरबहादुुुुर चन्द, शिवप्रसाद श्रेष्ठ, इन्दिराकुमारी शाही, टोपबहादुर थापा, सुदन केसी, युवराज ढकाल, टीकामणि उपाध्याय, बुद्धिबहादुर वि.के. र सन्तोषकुमार पौडेल, एशोसिएट सदस्यमा कमलकुमार कार्की र प्रदीपकुमार गुप्ता, सम्बद्ध सदस्यमा किशन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ विजयी हुनुभएको छ ।
महासचिवमा विवाद
निर्वाचन समितिले मतगणना गर्ने क्रममा अत्यन्त प्रतिस्पर्धा रहेको महासचिव पदको परिणाम घोषणामा विवाद भएको छ । निर्वाचन समितिले भीमबहादुर रानाभाट ६ मतले विजयी भएको औपचारिक जानकारी सार्वजनिक गरेको थियो ।
रानाभाटले एक हजार ९२६ मत र उहाँका प्रतिद्वन्द्वी टङ्कप्रसाद शर्माले एक हजार ९२० मत ल्याएको निर्वाचन समितिको भनाइ छ । तर शर्माले निर्वाचन परिणाम स्वीकार गर्नुभएको छैन ।