गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २९ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
व्यवस्थापिका संसदमा महिला सहभागिता ठिकै भए पनि कार्यपालिका (सरकार) मा हुन नसकेकाले संसदमाजस्तै सरकारमा पनि महिला सहभागिता सुनिश्चित गरिनु पर्ने उहाँको भनाइ छ ।
दलित महिला केन्द्र नेपालद्वारा शुक्रबार आयोजित महिलाको राजनीतिक सहभागिता र लैङ्गिक समावेशीतामा दलहरुको भूमिका विषयक अन्तरक्रियामा प्रमुख सचेतक लेखकले भन्नुभयो, “संसारभर संसदमा महिलाको सहभागिता २५ देखि ३० प्रतिशतसम्म देखिन्छ । तर हाम्रोमा ३३ प्रतिशत छ । यो नै पूर्ण होइन, तर संसदमाजस्तै कार्यपालिकामा पनि सुनिश्चित गरिनुपर्छ ।”
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदमा ३३ प्रतिशत महिला भए पनि अर्थपूर्ण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला निर्वाचन क्षेत्र बनाउनु पर्छ सहभागिता परिणाममा खोजिनुपर्छ । हामी प्रतिस्पर्धी र क्षमतावान हुन चाहन्छौं ।”
नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन घिमिरेले महिलाको सहभागिता बृद्धि भएको चर्चा गर्दै हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) की सचेतक रुपा चौधरीले महिलाको ३३ प्रतिशत सहभागिता भए पनि कार्यकारी भूमिका र सरकारमा महिलाको सहभागिता हुन नसकेको चर्चा गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले पार्टीभित्र दास मनोवृत्ति हावी भएकाले पनि महिला सहभागिता चाहेअनुसार हुन नसकिरहेको चर्चा गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले महिलाका समस्याको यथोचित सुनुवाई हुन नसकेको बताउनुभयो ।