सुजन काफ्ले
चरीकोट, भदौ २८ गते । जिल्लाको उत्तरी विगु गाउँपालिकाको सिंगटी बजारमाथिको तपतपे ढुङ्गा व्यवस्थापनपछि सिंगटीबासीको त्रास हटेको छ । गाउँपालिका ४ सिंगटी खोलिखिम बजारमाथि माईथान सामुदायिक वन क्षेत्रमा रहेको जोखिमयुक्त तपतपे ढुङ्गा ब्लास्टिङ मार्फत व्यवस्थापन गरिएपछि सिंगटीबासीको त्रास हटेको हो ।
नेपाली सेनाले सो ढुङ्गा व्यवस्थापनका लागि गत भदौ १८ गतेबाट काम सुरु गरेको थियो । नेपाली सेनाको तारादल गणको सेनानी गजेन्द्र दहितको समन्वयमा काली सिद्धि गणका इन्जिनियर सेनानी प्रभात सिंहको टिमले तपतपे ढुङ्गालाई १३ पटक ब्लास्टिङ गरी फुटाएर बिहीबार व्यवस्थापनको काम सकेको तारादल गण दोलखाले जनाएको छ । फुटाएको ढुङ्गाका टुक्राहरू पन्छाउने र माटो सफा गर्ने काममात्र बाँकी छ ।
वर्षाको कारण क्रमशः बग्दै गएको उक्त ढुङ्गा खस्यो भने खोलिखिम बजारको ७८ भन्दा बढी घर धुरीमा क्षतिपुग्न सक्ने नेपाली सेनाले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । उक्त ढुङ्गा भएको ठाउँमा पहिरो गयो भने तीन सय ५० मिटर तल सिंगटी बजारमा रहेको करिब २० घरमा क्षति हुने तथा ढुङ्गाले नदी थुन्यो भने बजारको ७८ वटा घरमा क्षतिपुग्न सक्ने अनुमान गरिएको थियो ।
ढुङ्गा खस्ने त्रास बढेपछि विगु गाउँपालिकाको पहलमा खोलिखिमका ३२ घर धुरीका बासिन्दालाई अन्यत्र सारिएको थियो । जोखिम मानिएको ढुङ्गा व्यवस्थापन गरिएकोले अब पहिलेको जस्तो त्रास नभएको विगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीले बताउनुभयो । अब फुटाएको ढुङ्गा पन्छाएर सफा गर्ने र सडकलाई मेसिनरी वाल दिएर मर्मत गरी जोखिम कम गर्ने पालिका प्रमुख ओलीले बताउनुभयो । त्यसको लागि करिब ४० लाख लाग्ने अनुमान गरिएको पनि ओलीले बताउनुभयो ।
गाउँपालिका प्रमुख ओलीले भन्नुभयो, “तर कतैबाट पनि सहयोग भएको छैन । सडक मर्मत र पहिरो रोकथामको काम तत्काल गर्नुपर्ने भएकोले पालिकाले काम सुरु गर्नेछ ।” खोलिखिम बजारलाई सुरक्षित बनाउन माटो बगेको जमिनमा समेत बिरुवा रोप्ने तथा वाल लगाउने काम गर्नुपर्ने भएकोले उक्त काम वर्षा सकिएपछि सुरु गर्ने ओलीले बताउनुभयो।
ढुङ्गा बग्ने जोखिमका कारण अन्यत्र सारिएको ३२ घर धुरीका मानिसलाई प्राकृतिक रूपमा जोखिम भए नभएको विज्ञको परीक्षण र सेनाको प्रतिवेदन प्राप्त भएपछि मात्र फिर्ता बोलाउन सकिने पालिका प्रमुख ओलीको भनाइ छ ।