काठमाडौं, भदौ २९ गते । प्रतिनिधि सभा बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराउनुभयो । सभामुख घिमिरे भन्नुभयो, “वि.सं २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचन प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गने निधन भएको हुनाले नेपालको संविधान ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त एक पद रिक्त भएको बैठकलाई जानकारी गराउँछु ।” पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।
आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयकलाई लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख घिमिरे उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको हो ।
बैठकमा सभामुख घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट आएको पत्रका बारेमा सदनलाई जानकारी गराउनुभएको थियो । पत्रमा सहरी विकास मन्त्रीको सीता गुरुङ नेदरल्यान्डमा आयोजना हुन लागेको पूर्वाधार लगानीसम्बन्धी कार्यक्रममा यही भदौ २४ गते प्रस्थान गर्नुभएको हुनाले उक्त मन्त्रालयको जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति रमेश रिजालले सम्हाल्नुहुने उल्लेख छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी असोज १४ गते आइतबार १ बजे बस्नेछ । रासस