• २ जेठ २०८२, शुक्रबार

सतचालिस महिलामा समस्या

blog

महोत्तरी समाचारदाता

महोत्तरी, भदौ २९ गते । मनरासिस्वा नगरपालिकामा भएको दुईदिने स्वास्थ्य शिविरमा चेकजाँच गराएकामध्ये ४७ जना महिलामा आङ खस्ने समस्या देखिएको छ ।

मनरासिस्वा नगरपालिकाको आयोजनामा आधारभूत नगर अस्पताल मनरामा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले गरेको महिलाको पाठेघरसम्बन्धी निःशुल्क जाँच, निःशुल्क औषधी वितरण तथा शल्यक्रियाका लागि छनोट कार्यक्रममा यो समस्या फेला परेको नगर प्रमुख मोहन पाण्डेयले जानकारी दिनुभयो। 

दुईदिने शिविरमा ३८९ महिलाले चेकजाँच गराएकामा ४७ महिलामा पाठेघर खस्ने समस्या देखिएको जानकारी दिँदै उहाँले २७ जना महिलालाई तत्कालै शल्यक्रिया गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो। त्यसै गरी २० महिलालाई रिङ पेसरी (चुरो) लगाउनुपर्ने आवश्यकता देखिएको जानकारी नगरप्रमुख पाण्डेयले दिनुभयो। शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने क्रममा १३ महिलामा पोजेटिभ देखिएको र सेकाइ (थर्मोकोग्लेसन विधि) बाट उपचार गरिएको जानकारी दिँदै उहाँले यस क्षेत्रका महिलामा आङ खस्ने समस्या बढी देखिएको बताउनुभयो। 

शिविरमा डा. आशिष बस्नेत, डा. दीपककुमार शाह, डा. आसुतोष शाह, डा. अनिलकुमार साह, डा. कैलाश मण्डल, डा. बीना ठाकुरलगायतले परीक्षण गर्नुभएको थियो। धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी, आरामको कमी, काम बढी गर्ने, तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने जस्ता कारण महिलामा पाठेघर खस्ने सम्भावना हुने गरेको चिकित्सकहरू बताउँछन्।

स्वास्थ्य कार्यालय महोत्तरीका नर्सिङ अधिकृत प्रतिभा सिंहले यस क्षेत्रका महिलामा पाठेघर खस्ने समस्या प्रमुख रूपमा रहेको जानकारी दिँदै नजिकको सरकारका रूपमा चिनिएका पालिकाहरू यसप्रति गम्भीर हुनुपर्ने बताउनुभयो। जिल्लाका सय महिलामा १५ देखि २० जनामा यो समस्या देखिएको दाबी गर्दै उहाँले घरपरिवारको डर, लाज र त्रासले महिला रोग लुकाउन बाध्य भएको बताउनुभयो। एक वर्षअघि मात्रै प्रादेशिक अस्पताल, जलेश्वरमा यस्ता महिलाका लागि शल्यक्रिया शिविर सञ्चालन गरिएको बताउँदै उहाँले जिल्लाका १५ पालिकामध्ये मटिहानी, मनरासिस्वा नगरपालिका र एकडारा गाउँपालिकाले मात्रै ५२ जना महिलाको नामावली पठाएको बताउनुभयो।