• २० असोज २०८१, आइतबार

साल्ट ट्रेडिङ कर्पोरेसन ६१ वर्षमा

‘कृषि क्षेत्रमा प्रत्यक्ष योगदान गर्न आवश्यक’

blog

काठमाडौँ, भदौ २८ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ६० औँ वर्ष पूरा गरी ६१ वर्षमा प्रवेश गरेको छ । 

कर्पोरेसनको ६१ औँ वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोग्य वस्तु मात्रै नभएर कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारको आवश्यकता अनुसार निर्देशन पालना गरी उपभोग्य वस्तुहरूको उपलब्धतामा देखाएको सक्रियता सकारात्मक रहेको बताउनुभयो ।

मन्त्री रिजालले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउने आफ्नो मूल्य र मान्यतालाई साकार रूप प्रदान गर्दै यसले पुर्‍याउन सकेको सेवाको सराहना गर्दै दैवी प्राकृतिक विपत्को अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेसनले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

नेपाल सरकार आमजनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरून् भन्ने चाहन्छ र त्यसै अनुसारको कार्यनीति अवलम्बन गर्दै आएको तथा कृत्रिम मूल्य वृद्धिले उपभोक्तामा नकारात्मक असर नपरोस् भनी नेपाल सरकारले बजार अनुगमनमा सक्रियता अपनाउँदै आफू अन्तर्गतका निकायलाई बजारभाउ नियन्त्रणमा भूमिका खेल्न प्रोत्साहित गर्दै आएको उहाँले बताउनुभयो ।

कर्पोरेसनको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको वार्षिकोत्सवमा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरूलाई बाल हितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसा पत्र र एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

उहाँले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो र २० वर्ष सेवा अवधि पूरा गरी कदरपत्र पाउने कर्मचारीको सेवाको सराहना गर्दै संस्थाको निरन्तर उन्नतिमा उहाँहरूको भविष्यमा अझ बढी योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारले आवश्यकता अनुसार गरेको निर्देशन पालनामा कर्पोरेसनले देखाएको सक्रियतालाई सरकारले सकारात्मक रूपमा लिएको भन्दै उहाँले यो परम्परा लामो समयसम्म रहने विश्वास लिएको बताउनुभयो । नुन जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधारणमा सहज रूपमा पु¥याउनु र वित्तीय लगानीको भार खेपेर पनि छ/छ महिनाको सञ्चिति कायम राख्नु सहज कुरा नभएको बताउनुभयो ।

कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले कर्पोरेसनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हरप्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताउनुभयो ।

कर्पोरेसनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घरदैलोमा सेवा पुर्‍याउन सफलता पाओस् भन्ने नेपाल सरकारको भावनालाई मूर्त रूप दिन निरन्तर लागिरहने विश्वास दिलाउनुभयो ।

अध्यक्ष श्रेष्ठले आफ्नो कमाइको केही अंश सामाजिक काममा लगाउनु पर्छ भन्ने मान्यतासँगै संस्थागत सामाजिक उत्तरदायित्वको बोध गरी कर्पोरेसनले सामाजिक काम गर्दै आएको बताउनुभयो । 

शुभकामना व्यक्त गर्दै सञ्चालक समितिका सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लीलाप्रसाद शर्माले कर्पोरेसनको प्रगतिको कामना गर्नुभयो । कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेसनले आमजनता तथा समस्त उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई आफ्नो सेवा प्रारम्भ 

गरेको ६० वर्ष पूरा गरी ६१ वर्षमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले कर्पोरेसनले आफ्नो उद्देश्य एवं प्रतिबद्धता अनुसार आमजनतालाई सुपथ एवं सहज रूपमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको बेहोरा सर्वविदित रहेको भन्नुभयो । 

अध्यक्ष श्रेष्ठले कर्पोरेसनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितिका बाबजुद पनि कर्पोरेसन आम उपभोक्ताको सेवामा सदैव सक्रिय रहिआएको बताउनुभयो ।

कार्यक्रममा २०८० सालसम्म २० वर्षभन्दा बढी सेवा गरेका नौ जना कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।