बाबुराम शर्मा
दोलखा, वैशाख २५ गते । कुनैदिन नचिनेर जथाभाबी फ्याँकिएको कफीका बिरुवा दोलखाको भीमेश्वर नगरपालिका–५ कात्तिकेका किसान रामशरण बुढाथोकीलाई अहिले गुजाराको राम्रो स्रोत बनेको छ ।
गत ४५ वर्षअघि यहाँको बागवानी केन्द्रबाट पाएको दुई वटा कफी बिरुवा फ्याँकिएको ठाउँमै फलेर नचिन्दा भुइँमा खसेर नास भयो । किसान बुढाथोकीले भन्नुभयो, ‘‘खसेकै ठाउँमा थुप्रै बिरुवा उम्रे तर वास्ता गरिएन । अहिले चिनेँ, यो त आम्दानीको स्रोत रहेछ । प्रतिकिलो सात सय रुपियाँ पाइने रहेछ ।’’
पुरानो उम्रिएको १० बोटमा थपेर अहिले १७ सय बोट छन् । उहाँले भन्नुभयो, ‘‘पाँच सय बोटले यसपालि फल दिन्छ । पुरानो बोटबाट फलेको तयारी सात किलो कफी छ । माग त आएको छ तर थोरै भएकाले बिक्री गरेको छैन । जति पुरानो भयो, त्यत्ति राम्रो हुन्छ रे । पाँच सय बोटबाट फलेपछि एकैचोटी बेच्ने सोचमा छु । धेरै थरी व्यवसाय गरेँ तर कुनैले फाइदा दिएनन् । यो कफी खेतीबाट भने उँभो लाग्छु जस्तो लागेको छ ।’’
यसमा थपेर १७ सय पु–याउँदै सात हजार कफी खेती गरी व्यावसाियक बन्ने सोच रहेको उहाँदले बताउनुभयो । उहाँकोअनुसार किराँतेश्वर अर्गानिक कफी समूह नामको फार्म दर्ता भइसकेको छ । यसमा ३२ जना गाउँले आवद्ध रहेका छन् । सात जनाले एक/एक सय बिरुवा रोपेका छन् । १० लाख बिरुवा रोप्ने लक्ष्य रहेको छ ।
राम्रो हावा पानी र उर्वर शक्ति भएको जगामा रोपेको तीन वर्षदेखि फल्न सुरु हुँदो रहेछ । उहाँले भन्नुभयो, ‘‘कफीको पकेट क्षेत्र बनाउन यहाँको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले १५ सय बिरुवा दिएको छ । व्यावसाियकताका लागि साझदोरीमा भीमेश्वर नगरपालिकाले १० लाख रुपियाँ दिएको छ । यसमा हाम्रोतर्फबाट १० लखा थपेर अगाडि बढ्न लागेका छौँ । थप आकर्षित पार्दै गाउँ नै कफीमय बनाउने र आम्दानीले आत्मनिर्भर बन्ने धोको रहेको छ ।’’
स्वादिलो भए पनि हातले प्रशोधन गर्दा सारै गारो हुँदो रहेछ । उत्पादन बढेपछि प्रशोधनका लागि दुई वटा जति मेसिन खरिद गर्ने सोचमा पनि छौँ । फार्मका अध्यक्ष समेत रहनु भएका किसान बुढाथोकीले भन्नुभयो, उत्पादनलाई गुणस्तर बनाएर प्याकिङ गरी बिक्री गर्न पनि लाग्छौँ ।
उत्पादन धेरै भएपछि माग पनि आउने र मूल्य पनि राम्रै पाइने देखिएको छ । राम्रो उत्पादन दिन थालेपछि सम्बन्धित निकायले सहयोग गर्ने वातावरण पनि बन्ने देखिएको छ ।