• ८ मंसिर २०८१, शनिबार

भूतपूर्व गोर्खाहरुको समस्या समाधानमा बेलायत सकारात्मक

blog

भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच भएको बैठक । तस्बिर : करुण अर्याल

करुण अर्याल

लण्डन, भदौ २६ गते । गोरखाहरू सेवा निवृत्त हुँदा १८ वर्षभन्दा कम उमेरका छोराछोरीलाई बेलायतको आवासीय भिसा दिने सम्बन्धमा संयुक्त अधिराज्य (बेलायत) सकारात्मक देखिएको छ ।

भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच जारी वार्ताका क्रममा सोमबार सम्पन्न प्राविधिक समितिको बैठकका क्रममा बेलायत पक्ष सकारात्मक भएको वार्तामा सहभागी भूतपूर्व गोर्खा जुदबहादुर गुरुङले जानकारी दिनुभयो । 

गुरुङले वार्तामा आफूहरूले पेन्सन नै गोरखाहरूको प्रमुख विषय रहेको कुरा स्पष्टसँग राखेको बताउनुभयो । पेन्सनको विषयमा मन्त्रीसँग सल्लाह गरेर थप निर्णय गर्ने जानकारी आफुहरुलाई बेलायती पक्षले दिएको उहाँले बताउनुभयो । 

लण्डनस्थित नेपाली राजदुतावासले भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागितामा रक्षा मन्त्रालयमा प्राविधिकस्तरको वैठक सम्पन्न भएको जनाएको छ । 

वैठकमा भूपू गोर्खाहरुका पेन्सन, कल्याणकारी विषय, गुडविल पेमेन्टलगायतका सबै मागमा विस्तृत छलफल भएको छ । बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयमा बिभिन्न सम्बन्धित निकाय तथा पदाधिकारीसँग आन्तरिक छलफलगरी आगामी वैठकमा जानकारी गराउने बताएको छ । 

बैठकमा नेपाल सरकारको तर्फबाट नेपाली राजदूतावासका नियोग उपप्रमुख श्री रोशन खनाल, सैनिक सहचारी सहायक रथी श्री रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङ्ग, धर्मबहादुर तामाङ, पुष्पा राणा घले, धनबहादुर गुरुङ्ग, सइन्द्रा केसी थापा तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो ।