रवीन्द्र उप्रेती
बर्दिबास, भदौ २६ गते । नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सामुदायिक विद्यालयलाई खेल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बर्दिबास उपशाखाले स्थानीय शुभेच्छुक एवम् सहयोगीहरूबाट प्राप्त करिब २ लाख मूल्य बराबरका सामग्री बर्दिबास ९ पशुपतिनगरस्थित जनमुखी आधारभूत विद्यालयलाई मंगलबार हस्तान्तरण गरेको हो ।
‘सामुदायिक विद्यालय रूपान्तरण अभियान’ अन्तर्गत उक्त विद्यालयलाई शैक्षिक एवम् खेल सामग्री, दिवा खाजाका लागि आवश्यक ५२५ थान भाँडा सेट, सिलिन्डर सहितको ग्याँस चुल्हो, फूलका बिरुवा सहितका गमला लगायतका सामग्री हस्तान्तरण गरेको रेडक्रस बर्दिबासका उपशाखा अध्यक्ष सुदीप कार्कीले जनाउनुभयो ।
रेडक्रसको ‘सामुदायिक विद्यालय रूपान्तरण अभियान’ लाई प्रभावकारी बनाउन विद्यालय परिसरमा मंगलबार अभिभावक भेलासहित विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम सम्बोधन गर्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीले नगर क्षेत्रमा रहेका विद्यालयको भौतिक एवम् शैक्षिक विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले नगरपालिकाले पहुँचको भरमा नभई आवश्यकताको आधारमा बजेट बाँडफाँड गर्ने नीति अवलम्बन गरेको दाबी गर्नुभयो ।
यसै नीतिअन्तर्गत गत आवमा यस विद्यालयले १ लाख सहयोग माग्दा त्यतिले नपुग्ने देखेर नगरपालिकाले २ लाख पचास हजार निकासा दिएको अभिभावकहरू समक्ष नगरप्रमुख क्षेत्रीले खुलासा गर्नुभयो । सामाजिक अभियन्ता एवम् पत्रकार राजकरण महतोले शिक्षित जनशक्ति नै विकासको मेरुदण्ड भएकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो ।
नगरपालिकाले स्टिलका थालभाँडा समेत सहयोग गरेकाले आजबाट कागजको प्लेटमा दिवा खाजा खानुपर्ने बाध्यता नभएको विद्यार्थीले जनाएका छन् । सामग्री हस्तान्तरण लगत्तै रेडक्रसका स्वास्थ्य टोलीले उपस्थित विद्यार्थीको दन्त परीक्षण गरेको थियो । कार्यक्रममा सञ्चारकर्मी समेत १२ जनाले विद्यालय परिसरमै रक्तदान समेत गर्नुभएको थियो ।