• ९ मंसिर २०८१, आइतबार

डेडिकेटेड फिडर र ट्रङ्कलाइन समस्या सुल्झाइने

blog

काठमाडौँ, भदौ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न सरकारी तवरमै पहल भइरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री प्रचण्डसँग गर्नुभएको भेटमा उहाँले यसबारे अध्ययन भइरहेको जानकारी गराउनुभएको छ । 

यसबारे निक्र्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको जनाइएको छ । 

अध्यक्ष ढकालको नेतृत्वमा पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिनुभएको हो । उहाँले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिट्टै टुङ्गोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने पनि बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगको विद्युत् आपूर्ति बन्द गर्ने जनाएको थियो । महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसाय ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिएको छ । “अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,” महासङ्घ अध्यक्ष ढकालले भन्नुभयो, “थप समस्या सिर्जना गरिदिनुभएन ।”

कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर सङ्कटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासङ्घको धारणा छ । 

‘व्यवसायीको मनोबल बढाउन आवश्यक’

महासङ्घले उद्यमी व्यवसायीको मनोबल बढाउने उपाय अवलम्बन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आग्रह गरेको छ ।  

सोमबार महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयमा भेट गरी आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको औँल्याएको हो । छलफलका क्रममा महासङ्घ अध्यक्ष ढकालले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आफ्नो काम गर्न सक्ने वातावरण आवश्यक रहेको औँल्याउनुभयो । 

अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैङ्क र सरकार दुवैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले यस विषयमा काम भइरहेको र छिट्टै निर्णय गरिने बताउनुभयो । यसै गरी अध्यक्ष ढकालले सीमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।