जनार्जन खत्री
सर्लाही, भदौ २५ गते । सर्लाही सदरमुकाम मलङ्गवाको जनजीवन आज सोमबारदेखि सामान्य बन्दैगएको छ । गत शुक्रबार श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको विवाद बढ्दै गएपछि मलङ्गवा बजारक्षेत्र तनावग्रस्त बनेको थियो ।
आइतबार अपराह्न सर्वपक्षीय ¥याली समेत निकालिएको थियो । त्यसपछि पनि राति केही समय असहज स्थिति सिर्जना भए पनि सोमबार बिहानबाट भने स्थिति सामान्य बन्दैगएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बजारका पसल खुल्न थालेका छन् । यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । शुक्रबार रातिदेखि आइतबार दिउँसोसम्म बारम्बार प्रदर्शन भई बजार बन्द हुँदा प्रभावित भएका स्थानीयहरू सोमबारदेखि बजार पसलसँगै यातायात सञ्चालनमा आएपछि खुसी भएका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले सोमबारदेखि प्रदर्शन रोकिएर अवस्था सामान्य बन्दैगएको जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षकका अनुसार पुनः अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ राखिएको छ ।
स्थानीय प्रशासन, पालिका, सामाजिक सङ्घ संस्थाले बारम्बार विज्ञप्ति जारी गरी संयमता अपनाउन सबैसँग आग्रह गरेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भेला, प्रदर्शन, जुलुसलगायतका कार्यक्रम गर्न रोक लगाई भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी नै रहने बताउनुभयो । प्रहरीले यसअघि प्रदर्शनका क्रममा ढुङ्गा मुढा गर्दा पक्राउ परेका सबै व्यक्तिलाई आइतबार साँझ छाडेको छ ।