• ९ मंसिर २०८१, आइतबार

विश्व शान्तिको सन्देशका लागि शिखर सम्मेलन हुँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २३ गते । विश्वभर दिगो शान्ति कायम गर्ने र शान्तिको महत्वबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन हुने भएको छ । हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा आगामी सेप्टेम्बर १८ देखि २० (असोज १ देखि ३) सम्म सो सम्मेलन हुन लागेको हो ।   

रिपब्लिक अफ कोरियाको राजधानी सिवलमा सो संस्थाले आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर शान्ति सम्मेलन गर्न लागेको जनाएको छ । विश्वको १६ औं ठूलो र सुन्दर शहरको रुपमा स्थापित सिवलमा एचडब्लुपीएलको केन्द्रीय कार्यालय रहेको छ । 

सन् २०१३ मा स्थापना भएको यो संस्था शान्ति कायम गर्ने क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने संस्थाको रुपमा स्थापित छ । सम्मेलनमा विश्वभरबाट एक हजार ८०० जना प्रतिनिधिहरुको सक्रिय सहभागिता हुने एचडब्लुपीएलका नेपाल प्रेस संयोजक डियना किमले जानकारी दिनुभयो ।  

विश्वभरि दिगो शान्ति स्थापनाका विविध आयाममा सम्मेलनमा छलफल हुनेछ । कार्यक्रममा विश्वका धेरै देशबाट शान्ति क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि, पत्रकारको सिवलमा जमघट हुने आयोजक संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष मान ही लीको अध्यक्षतामा तीन दिनसम्म शान्तिमा केन्द्रित भएर  छलफल र अन्तरक्रिया हुनेछ । युवाका लागि शान्ति, दिगो विकासका लागि शान्तिको अपरिहार्यता विषयमा गोष्ठीमा छलफल हुने किमले बताउनुभयो ।  

संस्थाका अध्यक्ष ही लीले स्न २०१३ देखि विश्वका विभिन्न देशको शान्ति प्रक्रियाका विषयमा अध्ययन गरी एचडब्लुपीएल मार्फत विश्वभरी दिगो शान्तिको पहल गर्दैआउनुभएको छ । सो क्रममा उहाँले अहिलेसम्म एक सय बढी देशको भ्रमण गरी दिगो शान्तिका विषयमा छलफल र अन्तरक्रिया गर्नुभएको सो संस्थाले जनाएको छ ।

वार्षिकोत्सवमा विश्वभरबाट प्रतिनिधित्व गर्ने कानून व्यवसायीहरुसँग दिगो शान्ति कायम गर्ने उपायका बारेमा छलफल हुने एचडब्लूपीएलले जनाएको छ । त्यस्तै, दिगो शान्तिका लागि धार्मिक गुरुहरुसँग पनि संस्थाले छलफल र अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।