• ८ मंसिर २०८१, शनिबार

पाँच मुक्तक

blog

एक 

आलोचना नगर्नूस्, जयजयकार पनि नगर्नूस्

कृतघ्नलाई कुनै, स्वागत सत्कार पनि नगर्नूस्

अहिले संवेदना मरेको यो सङ्कटकालीन समयमा

माटोप्रति कुठाराघात गर्दै, स्वार्थको व्यापार नगर्नूस् ।


दुई

आँखाभित्र नराख्नू मलाई, आँसु भएर खस्न सक्छु

मुटुभित्र पनि नराख्नू, तिखो काँडा भएर डस्न सक्छु

हराउन सक्छु कुहिरो भएर, सुक्न सक्छु खहरे भएर

तर सधैंँ, जिन्दगीको पानामा, याद भएर बस्न सक्छु । 


तीन

मान्छेहरू बाहिर एउटा भित्र अर्को कुरा गर्छन्

आफ्नै बिजोक छ, अरूको घरको कुरा गर्छन्

जसको जिन्दगी सधैँ तम्तमाइलो र खल्लो छ 

अचम्म ! उनीहरू नै अनेक चर्काे कुरा गर्छन् ।


चार

यात्रामा काउसो पनि भेटिन्छ, फूल पनि भेटिन्छ

भिर, पहिरो चौतारी,  मन्दिर र स्कुल पनि भेटिन्छ

बर्खामा तुइन चढ्दै स्कुल हिँडेका केटाकेटीहरूसँगै

सुसाइरहेको खोला र भत्किएको पुल पनि भेटिन्छ ।


पाँच

जीवन त्यसै कहाँ सार्वकालिक बन्छ

सोझो सेवक बन्छ, फटाहा मालिक बन्छ

यस्तो पनि समय आउँछ कविजी, ढुक्क हुनू

अहिले उपेक्षित छौ, मरेपछि सालिक बन्छ ।