• १३ साउन २०८१, आइतबार

धानबालीमा गबारो कीराको प्रकोप

blog

गबारो कीरा लागेको बैजनाथ गाउँपालिकाको धान ।

सिराज खान 

नेपालगन्ज, भदौ २२ गते । बाँकेका विभिन्न ठाउँमा लगाइएको धान बालीमा गबारो किराको प्रकोप देखिएको छ । गबारोे कीराका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन्। 

केही दिनयता बाँकेका सबै पालिकामा गबारोे कीराको प्रकोप तीव्र रूपमा फैलिएको छ । पसाउन लागेको धानबाली गबारोे कीराले नष्ट गरेपछि किसानहरु निराश छन् । गबारोे कीराले धानलाई काटिदिएपछि धान खेतमै मर्न थालिसकेको छ ।

जिल्लाका बैजनाथ गाउँपालिका र कोहलपुर गाउँपालिकामा करिब ३५ प्रतिशत धान खेतीमा गबारो कीराको प्रकोप देखिएको जानकारी आएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका कृषि विज्ञ जीवन कुमार केसीले गबारो कीराको प्रकोपले बैजनाथ र कोहलपुर सबैभन्दा बढी प्रभावित भएको जनाउँदै अन्य गाउँपालिकामा पनि प्रकोप देखिन थालेको बताउनुभयो । उहाँले कोहलपुर र बैजनाथमा सो किराले २० प्रतिशतभन्दा बढी धान खेती सखाप पारिसकेको र कीराको प्रकोप बढ्दै गएको बताउनुभयो ।

बैजनाथ गाउँपालिका–३ का किसान अनिल थारुले राम्रोसँग हुर्किरहेको धानबाली अहिले गबारोे कीराका कारण मर्न थालेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “मैले १५ कट्ठा खेतमा लगाएको धान राम्रोसँग हुर्किरहेको बेला गबारोे कीरा लागेर खेतमै धान सुक्न थालेपछि भोकमरीको चिन्ताले सताउन थालेको छ ।” सोही प्रकारको दुखेसो कोहलपुर–६ का किसान सुरेश चौधरीको पनि छ । उहाँले निकै दुःख गरेर २५ कठ्ठामा लगाएको धानमध्ये २० प्रतिशतमा कीराले नोक्सान पुर्‍याइसकेको बताउनुभयो ।  

कृषि ज्ञान केन्द्र नेपालगन्जले किसानलाई कुन औषधि प्रयोग गर्ने भन्ने जानकारी समेत नभएको जनाउँदै गबारोे कीरा देखिएका ठाउँ लगायत अन्य क्षेत्रमा कृषि प्राविधिकहरु पठाएर नियन्त्रण प्रयास गरिरहेको जनाएको छ । 

कृषि ज्ञान केन्द्रका कृषि विज्ञ केसीले भन्नुभयो, “कीराको प्रकोप देखिए पनि हामीले सल्लाह सुझाव बाहेक अन्य केही सहयोग गर्न सकेका छैनौं । किसानहरुले आफैं औषधि खरिद गरेर प्रयोग गरिरहनुभएको छ ।”

गबारोे धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठुलो क्षति पुर्‍याउने गरेको छ । कीराको प्रकोप तीव्र रूपमा फैलिने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको छ ।