गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २१ गते । कम्पनीहरूमा विभिन्न चरणमा हुने पुँजी लगानीको विश्वसनीयता कायम गर्ने उद्देश्यसहित कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ व्यवस्था लागु गरेको छ । कम्पनी प्रशासनको सिलसिलामा गरिने सुरु सेयर बाँडफाँट, सेयर लगत, पुँजी वृद्धि, सेयर किनबेच तथा बकसपत्रद्वारा हुने हक हस्तान्तरणको साबिकको व्यवस्थामा कार्यालयले कार्य प्रव्रिmयामा परिमार्जन गरेको हो ।
परिमार्जित व्यवस्था अनुसार सेयरधनीले कम्पनीलाई सेयरबापतको रकम चुक्ता गर्दा कम्पनीको खातामा बैङ्किङ प्रणालीमार्फत चुक्ता गरेको हुनुपर्ने छ । भदौ १८ पछि स्थापना भएका कम्पनीको हकमा भने प्रथम वार्षिक साधारण सभा गर्नुअघि नै अनिवार्य रूपमा सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी सेयर बाँडफाँट गर्दा कबुल गरेको सेयर रकमको पूरा वा आंशिक रकम चुक्ता गरी सेयर लगत अभिलेख गराई त्यसलाई प्रमाणित गरेपछि मात्र कम्पनी अद्यावधिकलगायत कम्पनी प्रशासनसम्बन्धी अन्य काम कारबाही गर्नुपर्ने उल्लेख छ ।
कुनै दुई प्राकृतिक व्यक्तिबिच भएको सेयर खरिदबिव्रmीको हकमा कुनै कम्पनी संलग्न भई गरेको खरिदबिक्रीबाहेक अन्य खरिदबिव्रmीको हकमा १० लाख रुपियाँसम्मको कारोबारमा चुक्ता प्रमाणका रूपमा बैङ्क स्टेटमेन्ट पेस नभएको अवस्थामा पनि अभिलेख स्वीकार हुने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७३/७४ भन्दा पछिको लेखापरीक्षण प्रतिवेदनमा चुक्ता पुँजी उल्लेख भएको तर सेयर लगत जारी नभएको कम्पनीमा सो पुँजी बराबरको चुक्ता प्रमाण पेस गरी सेयर लगत अभिलेख गरेर मात्र कम्पनी प्रशासनसम्बन्धी अन्य कागजातको अभिलेख कार्यालयले स्वीकार गर्ने भएको छ ।
कम्पनीको कुनै सेयरधनीले सेयरबापतको रकम कम्पनीको बैङ्क खातामा जम्मा गर्दा सेयर ‘कल’ गरेको मितिदेखि सेयर बाँडफाँट गरेको मितिभित्र जम्मा गर्नुपर्ने प्रावधान रहेकाले सोही अवधिको स्टेटमेन्ट मात्र चुक्ता प्रमाणका लागि मान्य हुने भएको छ । कार्यालयमा पेस गर्ने बैङ्क स्टेटमेन्टमा सम्बन्धित बैङ्कको छापसहित प्रमाणित भएको हुनुपर्ने व्यवस्था पनि थपिएको छ । यद्यपि नाता प्रमाणितबाट खुल्ने परिवारको सदस्यबिच भएको खरिदबिव्रmीको हकमा सम्बन्धित बैङ्कबाट प्रणालीले नै सिर्जना गरेको चुक्ता प्रमाणलाई पनि कार्यालयले स्वीकार गर्ने छ । सेयरबापतको रकम सम्बन्धित कम्पनीको बैङ्क खातामा जम्मा गर्दा सेयरधनी स्वयम्को नामबाट दाखिला भएको हुनुपर्ने तर सेयरधनी स्वयम्ले दाखिला गरेको हुनुपर्ने व्यवस्था पनि राखिएको छ । सेयरधनी स्वयम्ले दाखिला नगरी एकाघरको परिवारको नामबाट दाखिला भएको खण्डमा नाता खुल्ने कागजात र सम्बन्धित व्यक्तिको तर्फबाट आफूले जम्मा गरिदिएको भन्ने रकम जम्माकर्ताको स्वघोषणा तथा सोही बेहोराको सम्बन्धित सेयरधनीको स्वघोषणा अनिवार्य पेस गर्नुपर्ने छ ।
कम्पनीको ओभरड्राफ्ट खातामा रकम जम्मा गरेको खण्डमा सम्बन्धित सेयरधनीबाट सेयरबापतको रकम जम्मा भएको बेहोरा बैङ्क स्टेटमेन्ट वा भौचरमा खुलाई पेस हुनुपर्ने छ अथवा सम्बन्धित बैङ्कबाट सोही बेहोरा प्रमाणित गरी पेस गरेमा मात्र चुक्ता प्रमाणका रूपमा मान्य हुने व्यवस्था कार्यालयले गरेको छ । नयाँ व्यवस्थामा बकसमार्फत हुने सेयरको स्वामित्व हस्तान्तरणमा सम्बन्धित निकायबाट जारी भएको नाता प्रमाणित प्रमाणपत्रमा एकाघरको परिवार सदस्य भनी नाता खुलेको वा एकाघरको सदस्य भनी सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य आवश्यक हुने व्यवस्था गरिएको छ ।