जानु पाण्डे
कपिलवस्तु, भदौ २० गते । विद्यार्थीले आफ्नो समस्या आफैं समाधान गर्नसक्ने क्षमताकाे विकास गर्न विद्यार्थी गुणीय चक्र सम्मेलन आयोजना हुने भएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा भदौ २२ र २३ गते सम्मेलन हुने भएको हो ।
सम्मेलनमा कपिलवस्तुका १३ र अन्य जिल्लाका ८ विद्यालयका विद्यार्थीहरुको सहभागिता हुने आयोजक संस्था क्वेष्ट नेपाल लुम्बिनी हबले जनाएको छ ।
हब कोअर्डिनेटर मिलन भण्डारीले विद्यार्थीहरुको समूह निर्माण गरी समस्या पहिचान र समाधानका उपाय पत्ता लगाउन सक्ने सिपको विकास गरिने बताउनुभयो । समस्याको मुख्य कारण, त्यसले पार्ने प्रभाव तथा क्षतिको पहिचान, समाधानका विधि, सामूहिक अभ्यासलगायतका विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा सांस्कृतिक कार्यक्रम, हाजिरी जवाफ हिज्जे जस्ता अतिरिक्त क्रियाकलाप समेत सञ्चालन हुने प्याव्सन कपिलवस्तु अध्यक्ष सुन्दर पाण्डेले बताउनुभयो ।
विद्यार्थीहरूको समूह (४ देखि १० जना) ले विद्यालय र घर समाजसँग सम्बन्धित समस्या पहिचान वा आचरण पहिचान गरी समाधान गराउने हुँदा विद्यार्थीमा आफैं समाधान गर्ने सिपको विकास हुने सामाजिक अभियन्ता रोमाकान्त घिमिरेले बताउनुभयो । गुणीय चक्र विधिमार्फत झगडा गर्ने, जथाभावी असभ्य शब्द बोल्ने, धम्क्याउने, पढाइमा ध्यान नदिने लगायतका समस्या समाधान गर्न सकिने दाबी गरिएको छ । समस्या समाधान गर्न चेक लिस्ट, हिस्टोग्राम, बार डाइग्राम, फ्लो चार्ट्, परेटो डाइग्राम, ईशीकावा (कज एण्ड ईफेक्ट वा फिशबोन) डाईग्राम, स्क्याटर डाइग्राम आदि प्रयोग गरिने बताइएको छ ।