• १३ साउन २०८१, आइतबार

हावाहुरीले मकैबाली नष्ट

blog

आठबिसकोट नगरपालिका १४ मा हावाहुरीले मकैबारीमा गरेको क्षति ।

राजु लामिछाने 

रुकुमपश्चिम, भदौ १९ गते । रुकुमपश्चिमका विभिन्न स्थानमा आईतबार दिउँसोबाट आएको हावाहुरीसँगैको पानीले ठुलो क्षति भएको छ । हावाहुरीको कारण भित्र्याउने अवस्थामा रहेको मकैखेती नष्ट भएको हो ।

मकैखेतीमा व्यापक क्षति भएकोले यकिन तथ्याङक सङ्कलनको काम सोमबारबाट नै सुरु गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीले बताउनुभयो। कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समेत तीन दिनभित्रमा क्षतिको विवरण सङ्कलन गरेर पठाउन निर्देशन गरे अनुसार आजै जिल्लाका छ वटै पालिकामा प्राविधिक टोलीहरु पठाइएको केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबारको हावाहुरीले मकैबालीमा गरेको क्षतिको कारण उत्पादनमा निकै कमी आउने देखिन्छ । उहाँले जिल्लाको चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिका क्षेत्रमा सबैभन्दा बढी मात्रामा क्षति गरेको सूचना आएको उल्लेख गर्नुभयो । तुलनात्मक रुपमा चौरजहारी र आठबिसकोट नगरपालिका तथा सानीभेरी, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा बढी क्षति भएको छ भने मुसीकोट नगरपालिका क्षेत्रमा कम क्षति भएको आँकलन कृषि विकास कार्यालयले गरेको छ । सबै पालिका क्षेत्रमा लगाइएको मकैबाली केही दिनमै भाँच्ने तयारीमा किसानहरु रहेका थिए । 

मकै घर ल्याउन तयारीमा रहेको बेलामा हावाहुरी र पानीले बिगारेको भन्दै किसानहरु चिन्तित बनेका छन् । आठबिकोट नगरपालिका १४ का किसान खम्बु मल्लले पाक्ने बेलाको मकै भाँचेपछि के खाने भनेर पीर पर्न थालेको बताउनुभयो । उहाँका अनुसार आठबिसकोट नगरपालिकाको वडा नम्वर १३ र १४ मा मात्र करिब २६० घरपरिवारले १५० बिघा जग्गामा लगाएको मकैबाली हावाहुरीले ढालेको छ । यसका साथै किसानहरुले स्थानीय सरकारबाट राहतको आशा गरेका छन् । 

मकैबालीका साथै विभिन्न स्थानमा रहेका घर र गोठहरुमा समेत क्षति भएको छ । चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प बादीले नगरका अधिकांश भागमा रहेका किसानका गोठ र केही स्थानका घरसमेत हावाहुरीसँगैको पानीले भत्काएको बताउनुभयो । “बालीनाली झन् ध्वस्त नै बनायो”, नगरप्रमुख बादीले भन्नभुयो, “वडा वडाबाट क्षतिको विवरण सङ्कलन गर्दैछौं, विद्युतसमेत अवरुद्ध भएकोले सबै वडामा समन्वय र सम्पर्क हुन सकिरहेको छैन ।” विवरण यकिन भएमा क्षतिपूर्तिको प्रक्रियामा जाने उहाँको भनाइ छ । 

आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले विपद्ले किसानको मकै बालीमा पुर्‍याएको क्षतिको मूल्याङ्कन गरेर राहत उपलब्ध गराउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नगरपालिकाभर करिब तीन हजार हेक्टर जमिनमा लगाइएको मकैखेतीमा क्षति पुगेको उल्लेख गर्नुभयो ।