गौर समाचारदाता
गौर, भदौ १७ गते । गौर नगरपालिकाका प्रमुख शम्भु साहले सभ्य समाजकोे मुलभूत आधार शिक्षा नै रहेकाले यसको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । गौर नगरपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालयको सुविधा सम्पन्न नवनिर्मित चार कोठे भवनको उदघाटन गर्दै उहाँले शिक्षाको विकासबिना मानव सभ्यताको विकासको परिकल्पना सम्भव नरहेको बताउनुभयो । प्रमुख साहले आफू निर्वाचित भई पदभार ग्रहण गर्ने बितिकै नगरस्थित सरकारी तथा गैरसरकारी विद्यालयहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको बताउँदै शिक्षा क्षेत्रमा रहेका समस्या तथा अवरोधलाई समाधान गरी शिक्षा जगतको समुचित विकास तथा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर लागि परेको धारणा राख्नुभयो ।
शिक्षा क्षेत्रलाई आफूले पहिलो प्राथमिकताको सूचीमा राखेर अगाडि बढेको धारणा राख्दै उहाँले गौर नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रूपमा परिणत गर्ने आफ्नो योजना रहेको स्पष्ट पार्नुभयो । शिक्षाको विकास तथा गुणस्तर शिक्षाका लागि गौर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि बजेटमा प्राथमिकतासँगै, अनुगमन तथा निरीक्षण, भौतिक संरचना निर्र्माण एवं मर्मत, शैक्षिक महोत्सव, अतिरिक्त व्रिmयाकलाप, खेलकुदलगायत विभिन्न खाले शैक्षिक गतिविधि सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
विद्यालय भवन निर्माणले पठनपाठनमा सहज हुने भन्दै नगर प्रमुख साहले नवनिर्मित भवनको अधिकतम उपयोग गरी शिक्षाको स्तरलाई माथि उठाउन सम्बन्धित सबैसँग आग्रह गर्नुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सिसवास्थित माध्यमिक विद्यालयको चार कोठे भवन निर्माण सम्पन्न भएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताउनुभयो । गत २०७९ माघ १२ गते नगर प्रमुख साहद्वारा शिलान्यास गरिएको तथा सात महिनाभित्र निर्माण कार्य सम्पन्न भई उद्घाटन भएको समेत उहाँले जानकारी दिनुभयो ।