गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १७ गते । पर्यटनविद् हिक्मतसिंह ऐरको कविता सङ्ग्रह ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा, कवितामय फन्को देशको’ लोकार्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा ऐरको पुस्तक लोकार्पण गर्नुभएको हो । सो अवसरमा उहाँले कविता सङ्ग्रहमा राष्ट्रियता, प्रकृतिपे्रम र देशको पर्यटनको सम्भावनाका विषय समेटिएकाले नेपालको समग्र पर्यटन बुझ्ने आँखीझ्यालका रूपमा रहेको टिप्पणी गर्नुभयो ।
पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिमको तराई कञ्चनपुरदेखि पूर्व हिमालको कञ्चनजङ्घा बेस क्याम्पसम्म पुग्दाका अनुभव र अनुभूतिलाई कवि ऐरले कविता सङ्ग्रहमा प्रस्तुत गर्नुभएको छ । कृतिको समीक्षा कार्यव्रmममा वरिष्ठ साहित्यकार, पूर्वप्रशासक एवं पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सङ्ग्रह सिङ्गो नेपालको उज्यालो प्रतिविम्ब भएको उल्लेख गर्दै भूस्वर्गका रूपमा रहेको नेपालको आन्तरिक पर्यटन प्रवर्धनमा कविता सङ्ग्रह सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार चेतनाथ कँडेल, संस्कृतिविद् प्राज्ञ यज्ञराज उपाध्याय, पत्रकार अमृत भादगाउँले, डा. नवल त्रिपाठीलगायतले कविता सङ्ग्रहले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो ।
सङ्ग्रहमा ५२ वटा कवितासँग सम्बन्धित ठाउँका रङ्गीन तस्बिरहरू पनि राखिएका छन् । बुक्स हिमालयले प्रकाशन गरेको पुस्तकमा सातै प्रदेशका हिमाल, पहाड, तराई, चुरेभावरका जङ्गल, नदीनाला, संस्कृति र सम्पदा, मठमन्दिर, गुम्बा, चैत्य, खानपिन, रहनसहन एवं अन्य विशेषता वर्णन गरिएको छ । २३ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशकसमेत हुनुहुन्छ ।