जनकपुरधाम समाचारदाता
जनकपुरधाम, भदौ १७ गते । दुई दशकपछि सञ्चालनमा आएको नेपाल–भारत जोड्ने रेल सेवाले सम्झायो पुराना दिनहरू भन्दै पुराना सम्झनाहरू ताजा बनाउन सुनसरीदेखि परिवारसहित जनकपुरधाम आउनुभएका रामविनोद खड्का भन्नुहुन्छ, “दुई दशकपछि पुनः रेल चढ्न पाउँदा निकै नै हर्षित छु । पहिलाको रेल र अहिलेको रेलमा धेरै भिन्नता छ, सफासुग्घर चढ्न पनि सजिलो, कम्प्युटर सिस्टमबाट टिकट काट्न सकिने रहेछ ।”
श्रीमान् श्रीमती २० वर्षअघि रेल चढ्न आएको सम्झँदै उहाँले अहिले भने नाती नातिनासहित पुनः रेल चढ्न पाउँदा खुसी लागेको बताउनुहुन्छ । “उतिबेला कोइलाबाट चल्ने रेलमा बस्ने सिट पनि काठ थियो, कच्याक कुचुक्क भएर बस्नु पथ्र्यो,” उहाँले भन्नुभयो, “सुविधा सम्पन्न, साधारण र वातानुकुलित दुवै खालको सेवा लिएर यात्रा गर्न सकिने बस्ने व्यवस्था पनि विगतभन्दा धेरै राम्रो र रेल यात्रा आरामदायी छ ।”
माइतीघर जयनगर जान जनकपुरधाम आउनुभएका खड्काका पत्नी शोभा खड्का भन्नुहुन्छ, “२० वर्ष अघि धेरै पटक रेल चढेको थिएँ । तीन घण्टा लाग्ने बाटो अहिले एक घण्टामा तय गर्न पाउँदा खुसी लागेको छ । धेरै व्यवस्थित र परिवर्तन आएको छ रेल सेवामा ।”
दुई वर्षअघि छोराको विवाह गर्दा किनमेलका लागि चार चक्का रिजर्भ गरेर जयनगर बजार पुग्नुभएका जनकपुरधाम–८ निवासी गङ्गा देवीले सुनाउनुभयो । पहिले विवाह भोजका सामान किनमेल गर्न पनि चार चक्का रिजर्भ गरेर जयनगर जाने झन्झट हटेको उहाँले बताउनुभयो । दिनमा तीन पटक रेल चल्छ बिहानको रेल चढेर भारतीय बजार जयनगरमा किनमेल गरेर दिउँसो जनकपुरधाम आउन सकिने भएको रेल सञ्चानल भएपछि धेरै सुविधा भएको उहाँ बताउनुहुन्छ ।
अन्तरदेशीय रेल सेवा सञ्चालनले दुई देशलाई जनस्तरबाट जोड्ने र भारतसँगको सम्बन्ध प्रगाढ बनेको नेपाल रेलवे कम्पनीका इन्जिनियर रवीन्द्र साहले बताउनुभयो । भारतको जयनगरदेखि नेपालको कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन हुन थालेपछि प्रदेशको राजधानी तथा ऐतिहासिक धार्मिक सहरमा रहेका जानकी मन्दिरमा लाग्ने पर्वका बेला जनकपुरधाम आउने यात्रुको घुइँचो लाग्ने गर्छ । यसले दुवै देशका धार्मिक पर्यटकलाई यात्रा गर्न सहज भएको उहाँ बताउनुहुन्छ । “रेल यात्रा सहज र सुरक्षित बनाउन आगामी दिनमा रेलको बिमा, स्टेसनहरूमा सिसी क्यामेरा जडान, पेसेन्जर रेल थप्ने र कार्गो रेल सञ्चालनका लागि कर्गो रेल पनि भारत सरकारसँग माग गरेका छौँ । यसका लागि परराष्ट्र मन्त्रालय मार्फत पत्रसमेत पठाइएको छ,” उहाँले भन्नुभयो ।
रेल सञ्चालनले दुई देशको सम्बन्ध प्रगाढ हुनुका साथ दुई देशको व्यापारलाई पनि फाइदा पु-याउने छ । कार्गो रेल सञ्चालनमा आएपछि दुवै देशका व्यापारीलाई फाइदा हुने र आमनागरिकले सुपथ मूल्यमा सामान खरिद गर्न पाउने जनकपुर उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष परमेश्वर साहको भनाइ छ । उहाँ भन्नुहुन्छ, “त्यसैले सङ्घले बारम्बार कार्गो रेल सञ्चालका लागि पटक पटक ज्ञापनपत्रसमेत बुझाउँदै आएको छ ।”
२०७८ साल चैत १९ गते भारत भ्रमणमा रहनुभएका नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट जयनगर–कुर्था (जनकपुर) रेल सेवाको विधिवत उद्घाटन गरेपछि रेल सञ्चालनमा आएको थियो । रेलले घण्टौँको दुरीलाई छोट्याएको मात्र छैन, पैसा र समयको समेत बचत गरेको रेलमा सवार दुवै देशका यात्रु सुनाउँछन् ।
उद्घाटनका व्रmममा भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर मात्र सञ्चालन भएको रेल अहिले महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर दैनिक एक पटक र कुर्था–जयनगर दैनिक दुई पटक सेवा दिँदै आएको छ । जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित २०७७ असोज पहिलो साता नेपाल आइपुगेको दुई वटा रेल एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएको थियो । रेल चलाउन नेपाल रेलवे कम्पनीले भारतको कोंकण रेलवेसँग सम्झौता गरेको छ । नियमित सेवा दिने गरी भन्सार र मूल्य अभिवृद्धि करसहित एक अर्ब ५ करोड रुपियाँमा किनिएको रेल खरिद गरेको १७ महिनापछि मात्र सञ्चालनमा आएको थियो । रेल सञ्चालनमा अहिले पनि भारतका १९ जना जनशक्ति खटिएका छन् ।