• १३ साउन २०८१, आइतबार

वार्षिक ३० हजार मेट्रिक टन विषादीको प्रयोग

blog

धन बालीमा झार मार्ने विषादी हाल्दै किसान । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र (सुनसरी), भदौ १६ गते । खाद्यान्न र तरकारी बाली उत्पादनका लागि उर्वरभूमि मानिने सुनसरी जिल्लामा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ लगायतका अन्न बालीमा विषादीको प्रयोग बढी हुनेगरेको छ । 

सुनसरीका किसानले रोग किरा नियन्त्रण गरी बढी उत्पादन गर्न आफूखुसी प्रयोग गर्दा विषादीको दुरुपयोग भइरहेको छ । सिफारिसको मात्राभन्दा बढी प्रयोग गर्नाले विषादीको दुरुपयोग बढेर गएको हो ।

खाद्यान्न र तरकारीमा प्रयोग हुने विषादीको परिमाण कम गर्न सरकारले २९ वर्षदेखि राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आइपीएम) सञ्चालन गर्दै आए पनि विषादी प्रयोगमा भने कुनै कमी आएको छैन । 

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा आर्थिक वर्ष २०७९–८० मा ३० हजार मेक्ट्रीकटन विषादी किसानले तरकारी, नगदे बालीलगायतका अन्नबालीमा प्रयोग गरेका छन् । किसानले रोगनाशक विषादी ४० प्रतिशत र ढुसीनाशक पाउडर ६० प्रतिशत प्रयोग गर्दैआएको श्रेष्ठले बताउनुभयो । 

बजारमा तरकारीको माग बढी, उत्पादन कम हुनेहुँदा कीटनाशक विषादीको प्रयोग जथाभाबी रूपमा बढी हुँदैआएको छ । मौसमी र बेमौसमी तरकारी छोटो समयमै उत्पादन गरेर बजार लग्न किसानले तरकारी बालीमा विषादीको प्रयोग बढी मात्रामा गर्दैआएका छन् । बेमौसमी तरकारीमा बढी रोगकिरा लाग्ने हुँदा विषादीको प्रयोग बढी हुनेगरेको सूचना अधिकृत श्रेष्ठले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र सुनसरीले विषादी नियन्त्रण गर्न प्रयासहरू जारी राखे पनि खुल्ला सिमानाका कारण विषादी प्रयोगमा नियन्त्रण हुन सकेको छैन । किसानहरू विषादीको असरबारे जानकार हुँदाहुँदै पनि कडा विषादीको प्रयोग गर्ने गरेकाले पनि नियन्त्रण गर्न गाह्रो भएको सूचना अधिकृत श्रेष्ठले बताउनुभयो ।

कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहराका कृषि प्राविधिक अधिकृत विनोद यादवका अनुसार रातो लेभल भएको बिषादीले तत्कालै रियाक्सन देखाउने भएकाले यसको प्रयोग किसानले बढी गर्दैआएका छन् । उहाँले भन्नुभयो, “रातो विषादीलाई प्रयोगमा कमी ल्याउन किसानलाई तालिम र जनचेतनाका कार्यहरू पालिकास्तरबाट पनि चलाउनुपर्ने देखिन्छ । 

कीटनाशक विषादी

बालीमा लाग्ने रोगहरू, झारपातहरू मुसालाई नियन्त्रण गर्ने वा मार्ने उपयोगको लागि शत्रु जीवनाशक विषादीहरू अति प्रभावकारी रसायन मानिन्छ । यी रसायनको दुरुपयोग बालीहरू र मानव जगतको लागि खतरनाक छन् । यिनीहरूको प्रयोग प्रभावकारी र सुरक्षित तरिकाबाट गर्न कृषकलाई यस्ता विषादीको आधारभूत ज्ञान हुन आवश्यक रहेको सूचना अधिकृत प्रवीणलाल श्रेष्ठको भनाइ छ । 

ढुसीलाई नियन्त्रण गर्न ढुसीनाशक विषादीहरू, झारपात नियन्त्रणका लागि झारपात नाशक, मुसा नियन्त्रणका लागि मुसानाशकजस्ता लक्षित शत्रु जीवको आधारमा विषादीको प्रयोग नगरी जथाभाबी रूपमा विषादीको प्रयोग गर्नाले विषादीको दुरुपयोग बढेर गएको हो । 


कहिले भित्रियो विषादी

नेपालमा प्रथम पटक सन् १९५० मा नेपाल औलो उन्मुलन कार्यक्रमले औलो रोग नियन्त्रणको लागि अमेरिकाबाट रासायनिक विषादी आयात गरेको देखिन्छ । सन् १९५२ मा स्वास्थ्य मन्त्रालयले नेपालमा डीडीसी. भित्र्याएको थियो । 

कृषि प्रयोजनका लागि सन् १९६५ मा पहिलो पटक कृषि मन्त्रालयले नेपालमा डीडीटी. भित्र्याएको थियो । तत्कालीन अवस्था देखि नै कृषकहरूले सामान्य रूपमा विषादी प्रयोग गर्दैआए पनि पछिल्लो समय विषादीको प्रयोग अत्यधिक मात्रामा बढेर गएको हो । 

प्रतिबन्धित विषादी

रासायनिक विषादी प्रायजसो तेल र बोसोमा तयार हुन्छ । त्यसैले यसको रियाक्सन लामो समयसम्म हावा, पानी र वातावरणमा रहिरहने विज्ञहरू बत्ताउँछन् । किसानले विषादीको किसिम र सङ्केतका बारेमा पनि जान्न आवश्यक छ । 

रातो चिन्ह भएको अत्यधिक विषालु, पहेँलो चिन्ह भएको विषालु, निलो चिन्ह भएको मध्यम विषालु र हरियो चिन्ह भएको सामान्य विषादी हो । नेपालमा २४ प्रकारका विषादी प्रतिबन्धित छन् । 

प्रतिबन्धित विषादीहरू क्लोरोडेन, डीडीटी., डाइएल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, वीएचसी., लिन्डेन, फस्फामिडन, आर्गानो मर्करी कम्पाउन्ड, मिथाइल पाराथियन, मोनोक्रोटोफस, इन्डोसल्फान, फोरेट, कावोफ्युरान, कार्बारिल, डाइक्लोरोभस, ट्राइजोफस, बेनोमिल, कार्बोसल्फान, डाइकोफल, एल्मोनियम फस्फाइड ३ ग्राम टेबलेट रहेका छन् । 

विषादीको असर 

बालीनालीमा लाग्ने विभिन्न शत्रुजिब नियन्त्रणका लागि प्रयोग हुने रासायनिक विषादीहरू मानिस र पशुपन्छीका लागि समेत घातक हुनेगरेको छ । विषादीको अत्यधिक प्रयोगले हावा, पानी, माटोलगायत समग्र पर्यावरणलाई नै प्रदूषित गर्छ । सिफारिस मात्राभन्दा विषादीको बढी प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्नेगर्छ । 

प्रतिबन्धित गरिएका कतिपय विषादीहरू बजारमा लुकीचोरी विक्री हुनेगरेका कारण किसानले प्रयोग गर्दा मानव स्वास्थ्यमा दीर्घकालीन असर पुग्नेगरेको छ । रासायनिक विषादीले क्षणिक रूपमा राम्रै उत्पादन दिने भए पनि दीर्घकालीन रूपमा भने माटो उर्वरा शक्तिलाई नै घटाउने विज्ञहरू बताउँछन् ।