• ८ मंसिर २०८१, शनिबार

गुनी गिद्ध

blog

गिद्ध भन्नेबित्तिकै हामी फोहोरी, घिनलाग्दो, भद्दा र अपशकुन चरा हो भन्ने बुझ्छौँ । अझ गिद्धलाई छुनु हुँदैन, यदि गिद्धले छोयो अथवा नजिकबाट नाघ्यो भने स्वस्तिशान्ति गर्नु पर्छ भन्ने खालका मान्यताहरू दशक अघिसम्म व्यापक रूपमा थिए । ‘गिद्धे दृष्टि’ भनेर खराब र हिंस्रक नजरलाई इङ्गित गर्छ । 

यी सबै एक निर्दोष प्राणीमाथि हामीले थोपरेको दोष र गलत सोच मात्र हो । गिद्धले बरु मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाई हाम्रो वरपरको वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाएर मानव समुदायलाई नै सहयोग गरिरहेको हुन्छ । गिद्ध त यस धर्तीलाई सफासुग्घर राख्ने ‘प्रकृतिको कुचिकार’ हो । 

गिद्ध सिकारी चरा समूहमा पर्ने भए पनि यसले अन्य सिकारी चरा चिल, बाज र बौडाईले जस्तो जिउँदो प्राणीलाई आक्रमण गरेर खाँदैन । यसले मरेका जनावरको मासु अथवा सिनो मात्र खान्छ । जनावर मरिसकेको छ वा छैन, मरेको छ भने खान सुरक्षित छ वा छैन भन्ने कुराको निश्चितताका लागि काग, कुकुर, स्याल र मुसाले खान सुरु नगरुन्जेल गिद्धले खाँदैन । 

कतिपय अवस्थामा गिद्धले घण्टौँसम्म सिनो कुरेर बस्छ र अन्य जनावर जस्तै : काग, कुकुर, स्यालले खान सुरु गरेपछि मात्र खान थाल्छ । संसारमा गिद्ध मात्र एउटा यस्तो प्राणी हो, जसको आहार मरेका जनावरको सडेगलेको मासु मात्र हो । त्यसैले गिद्ध हामीले चित्रित गरे जस्तो हिंस्रक पन्छी होइन । 

गिद्धको विशेषता नै सिनोलाई कुशलतापूर्वक छोटो समयमै खानु हो । गिद्धले सिनोको करिब ९० प्रतिशत भाग खान सक्छ तर अन्यले सिनोको ४५ प्रतिशत भाग मात्र खान्छ । गिद्धले सिनोलाई केही घण्टामै खान सक्छ । यो अद्भूत क्षमता अन्य जनावरमा हुँदैन । 

त्यसैले प्रकृतिमा गिद्ध हुनु र नहुनुले ठुलो महìव राख्छ । गिद्धको अभाव भएमा सिनो प्रकृतिमा लामो समयसम्म सड्छ । भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको बिगबिगी बढ्छ । स्याल–कुकुरको झगडाबाट रेबिज जस्तो रोगको सङ्क्रमण पैmलिन सक्छ । कुकुरले सिनोका केही भाग बोकेर बस्ती पनि पस्न सक्छ । अनि मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखाला आदि सरुवा रोगहरू फैलिन सक्छ ।

त्यसै गरी पशुचौपायाहरूमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगको सङ्क्रमणले महामारीको रूप लिन सक्छ । गिद्धले सिनोबाट हुने जमिन, जल र वायु प्रदूषण तथा सम्भावित विकराल अवस्थालाई पनि नियन्त्रण गर्छ । यति मात्र होइन, गिद्ध नहुने हो भने सिनो सड्न लामो समय लाग्छ र त्यस क्रममा सिनोबाट हरितगृह ग्यास उत्सर्जन हुन्छ ।

गिद्धले सिनो खाइदिँदा थोरै मात्रामा भए पनि हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण हुन्छ, जसले जलवायु परिवर्तनलाई रोक्नसमेत टेवा पु¥याउँछ । पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खला सन्तुलन तथा गतिशीलताको संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो । जहाँ गिद्ध छन्, त्यहाँको वातावरण सफा र स्वच्छ छ भन्ने बुझिन्छ । 

अहिले देशभरका सहरी क्षेत्रमा छाडा पशुचौपाया जटिल समस्या बन्दै गइरहेको छ । ती सडक दुर्घटनाको जोखिम, सहरी सौन्दर्यको कुरुपता मात्र होइन, उचित व्यवस्थापन नहुँदा पशु अधिकारको पनि हनन भइरहेको छ तर देशका कतिपय स्थानीय सरकार र सामुदायिक वनहरूले छाडा पशुको व्यवस्थापन, दुर्लभ गिद्धको संरक्षण तथा पर्यापर्यटन अभिवृद्धि जस्तो बहुआयामिक अभियानलाई सँगै अगाडि बढाइरहेका छन् । 

पोखरा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, कैलाली र कञ्चनपुरमा यस खालको काम भइरहेको पाइन्छ । यसले छाडा पशुचौपायाको नियन्त्रण तथा व्यवस्थापनसँगै लोपोन्मुख गिद्धको पनि संरक्षण भएको पाइन्छ । एउटा गिद्धले न्यूनतम पनि एक वर्षमा १५० केजी सिनो खान्छ । अफ्रिकामा गरिएको एक अध्ययन अनुसार एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर मूल्य बराबर सिनो सफाइमा योगदान पु¥याएको छ ।

प्रायः मानव बस्तीनजिकै बस्न रुचाउने गिद्धका धेरै प्रजातिले समूहमा खाने र गुँड बनाउने गर्छ । विसं २०७८ पुस १५ मा नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा अहिलेसम्मकै धेरै ३४१ गिद्ध (सात प्रजाति) ले एकै ठाउँमा सिनो खाएका थिए । त्यसै गरी हिमाली गिद्ध, हाडफोर गिद्ध र सेतो गिद्ध तीन प्रजातिले अर्घाखाँचीको घेराभिरमा एउटै पहरामा गुँड बनाएको भेटिएको छ । यसको मतलब गिद्ध समूहमा मिलेर बस्ने सामाजिक प्राणी हो । 

गिद्धले एक पटक जोडी बाँधिसकेपछि त्यसलाई आजीवन कायम राख्छ । गुँड निर्माण, ओथारो बस्ने, बच्चा कोरल्ने र हुर्काउने काममा भालेपोथीको बराबर साझेदारी हुन्छ । गिद्ध शान्त र भलाद्मी स्वभावको हुन्छ । शक्ति सञ्चयका लागि यिनीहरू प्रायः रुख वा अग्लो ठाउँमा स्थिर बसिरहन्छ तर दिन तातिँदै गएसँगै हावाको चापको सहयोगमा माथि माथि उड्ने र आकाशमा पखेटा नफटफटाई रिङ्ने गर्छ ।

गिद्धको वर्णन विभिन्न धर्मशास्त्रमा पनि गरिएको पाइन्छ । हिन्दु धर्ममा गिद्धलाई सनी देवताको बहानाका रूपमा पुजिन्छ । कतिपय स्थानमा गिद्धको मूर्ति बनाएर पूजा गरिएको पनि भेटिन्छ । रामायणमा रावणले सीतालाई हरण गरी उसको राज्य लङ्कामा लैजाँदा उसको पञ्जाबाट सीतालाई छुटाउन गिद्धले रावणसँग लडाइँ लडेको प्रसङ्ग उल्लेख छ । 

संस्कृतमा गिद्धलाई जटायु भनिन्छ । त्यसैले रामायणमा जटायुलाई न्यायिक योद्धाका रूपमा चित्रण गरिएको छ । उच्च हिमाली भेगमा बस्ने समुदायको मृत्यु संस्कारसँग गिद्धको अत्यन्तै घनिष्ठ सम्बन्ध हुन्छ । नेपालको हिमालपारि मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जिल्लाको पठार क्षेत्र र तिब्बती पठारमा बसोबास गर्ने तिब्बती लामा समुदायले आफन्तको मृत्युपछि शव गिद्धलाई खुवाउने प्रचलन अहिले पनि कायम छ । 

यस क्षेत्रका रैथाने तिब्बती मूलका लामाहरूले गिद्धलाई मृतक (आत्मा) लाई स्वर्ग पु¥याउने दूतका रूपमा पूजा गर्ने प्रचलन छ । छिमेकी देश भारतको मुम्बईमा पार्सी समुदायहरूले आफन्तको शवलाई अन्त्येष्टिका लागि ‘साइलेन्स टावर’ मा लगी राखिदिन्छन् । उक्त स्थानमा गिद्ध आई खाने गर्छ । यसर्थ गिद्ध खाद्य शृङ्खलाको संयोजक र जैविक विविधताको महत्वपूर्ण हिस्सा मात्र होइन, लाखौँ मानिसको सामाजिक, धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि हो ।

जिउँदो जनावरलाई आक्रमण नगरी मरुन्जेल कुर्ने, आजीवन एउटै जोडी मिलेर बस्ने, भालेपोथी मिलेर बराबर काम गर्ने, समूहमा मिलेर बस्ने र खाने गुनी गिद्धको संरक्षणमा सबैले सहयोग गर्न जरुरी छ । आज १५ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको यही छ कामना !  

Author

कृष्णप्रसाद भुसाल