• १३ जेठ २०८१, आइतबार

‘राष्ट्रिय पुस्तकालय छिट्टै बन्छ’

blog

काठमाडौँ, भदौ १६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढङ्गले अगाडि बढाउन पहल थाल्ने बताउनुभएको छ।

१६ औँ पुस्तकालय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुस्तकालय भवन निर्माणमा देखिएको अड्चनलाई हटाएर निर्माण कार्यलाई अगाडि बढाइने बताउनुभयो। सरकारले दुई वर्षअघि नै राष्ट्रिय पुस्तकालय भवन जमलमा निर्माण गर्ने घोषणा गर्दै त्यसको डिजाइन र टेन्डरसमेत आह्वान गरिसकेको थियो। डिजाइनमा सामान्य त्रुटि देखिएको र ठेकेदारसँगको मिलेमतो भएको जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तिममा आएर टेन्डर रद्द गरेको थियो।

त्यस बेला सरकारले पुस्तकालय भवन निर्माण गर्न १० करोड रुपियाँ विनियोजन गरेको थियो। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि राष्ट्रिय पुस्तकालय भवन निर्माण गर्न १० करोड रुपियाँ नै विनियोजन गरिएको छ। यस पटक भने सहरी विकास तथा भवन निर्माण विभागमार्फत पुस्तकालय भवन निर्माण कार्य अगाडि बढाइने भएको छ। ललितपुरको पुल्चोकमा रहेको पुस्तकालय २०७२ सालको भूकम्पपछि सञ्चालनमा आउन सकेको थिएन। २०७८ साल माघमा भक्तपुरको सानोठिमीमा अस्थायी टहरो निर्माण गरी सञ्चालनमा ल्याइएको छ। 

“राष्ट्रिय पुस्तकालय किन नबनेको भनेर प्रश्न उठेको छ। यो विषयमा मैले पनि बुझ्नै पर्ने गहिरो कुरो छ। रकम त अहिले पनि विनियोजन भएकै छ,” मन्त्री राईले भन्नुभयो, “विगतमा खर्च गर्न मिलेन भन्ने सुनेँ। कानुनी व्यवधान छन्। मुद्दा मामिला पनि चल्यो भन्ने सुनेँ।” उहाँले पुस्तकालय भवन निर्माण नहुने अवस्थामा रहेको भन्ने आफूले सुनेको उल्लेख गर्दै भन्नुभयो, “केही प्रक्रिया पूरा गर्नुपर्ने रहेछ। सर्वोच्च  अदालतको फैसलाले हामीलाई केही प्रक्रिया पूरा गर्नू भनेको रहेछ। अब अवरोध पन्छाएर निर्माण कार्य अगाडि बढाउन प्रतिबद्ध छौँ।”

उहाँले युवामा पठन संस्कृतिको अभाव भएको भन्दै युग अनुकूल पुस्तकालयलाई परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो।